काठमाडौंमा किन बढिरहेका छन् भाइरल ज्वरोका बिरामी ?

काठमाडौं । काठमाडौंमा पछिल्ला दिनमा भाइरल ज्वरोका बिरामी बढिरहेको अस्पतालहरूको तथ्यांकले देखाउँछ । केही दिनयता भाइरल ज्वरोका बिरामी धेरै आइरहेको विभिन्न अस्पतालका चिकित्सक बताउँछन् ।

मेडिकेयर र ग्राण्डी अस्पतालमा बिरामी हेर्दै आएका जनरल फिजिसियन डा.प्रशान्त त्रिपाठी समुदायमै भाइरल ज्वरो फैलिएको आँकलन गर्छन् । दुवै अस्पतालको ओपीडीमा जाँचका लागि आउने बिरामीमध्ये करिब ६० प्रतशित ज्वरो र रुघाखोकीका बिरामी रहेको डा.त्रिपाठीले जानकारी दिए।

‘केही साता देखि नै अस्पताल आउनेमा सबैभन्दा बढी बिरामी भाइरल ज्वरोकै छन्’ डा.त्रिपाठी भन्छन्, ‘दैनिक ओपीडीमा ६० प्रतिशत बिरामी संक्रमणले आउनु भनेको समुदायमा भाइरल ज्वरोका बिरामी बढिरहेको बुझिन्छ ।’

भाइरल ज्वरो संक्रमण नहोस भनेर सर्तकता अपनाउन उनको सुझाव छ।
डा.त्रिपाठीका अनुसार अस्पतलामा आउने अधिकांशमा घ्यारघ्यार हुने, रुघाखोकी, जिउ दुख्ने, ज्वरो, थुक निल्न कठिन हुने, घाँटी खसखस हुने र छाती दुख्ने लगायतका लक्षण देखिएका छन्।

वीर अस्पतालमा पनि उस्तै लक्षण लिएर ओपीडीमा आउने बिरामी धेरै रहेको फोक्सो तथा छातीरोग विशेषज्ञ डा.कमल थापा बताउँछन् । उनीहरुको परीक्षणमा इन्फ्लुएन्जा भाइरस पुष्टि भएको डा.थापाले जानकारी दिए।

उनका अनुसार वर्षेनी मौसम परिवर्तन भएसँगै यस्ता बिरामी बढ्छन् । पहिले यस्ता बिरामी आए पनि केही दिनमै निको हुन्थे । अहिले तीन सातासम्म पनि लक्षण रहिरहने देखिएको डा.थापाको भनाइ छ।

‘मौसम परिवर्तन भएसँगै भाइरल संक्रमण बढ्छ’ डा.थापा भन्छन्, ‘जुन एकबाट अर्कोमा सर्छ । यस्तो समयमा दमका बिरामी र रोगप्रतिरोध क्षमता कम भएका बिरामीलाई बढी सताउँछ ।’

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पनि ज्वरो र रुघाखोकी कै बिरामी धेरै आइरहेको अस्पतालका चिकित्सिक डा.शेरबहादुर पुनले जानकारी दिए।
समुदायमा भाइरल तीब्र गतिमा फैलनि सक्ने भएकाले सतर्कता अपनाउन डा.पुनले आग्रह गरे ।

यस्ता लक्षण देखिए घरमा सिटामोल सेवन गर्ने, झोलिलो पदार्थ खुवाउने, हिँड्दा मास्कको प्रयोग गर्ने र लक्षणले पिरोले ढिला नगरी अस्पताल जान उनको सुझाव छ ।

जाँचका लागि कान्ति बाल अस्पताल आउने बालबालिका मध्येमा पनि भाइरल ज्वरो, रुघाखोकी कै बिरामी धेरै रहेको कान्ति बाल अस्पतालका डा. रामहरि चापागाईं बताउँछन् । ‘प्रत्येक वर्ष यो समयमा भाइरल संक्रमण पैmलिन्छ । यसपटक पहिलेको भन्दा संख्या बढी छ’ डा.चापागाईँ भन्छन्, ‘उनीहरुमा देखिएको लक्षण ठिक हुन पनि लामो समय लागेको छ, ।’ यसले जटिलता निम्त्याउने अवस्था भने नरहेको उनले स्पष्ट पारे ।

किन बढ्दैछ भाइरल ज्वरोको संक्रमण ?

डा. पुनका अनुसार मौसम परिवर्तन भइरहेको छ । मौसम परिवर्तन भएसँगै इन्फ्लुएन्जाको सक्रियता बढ्छ। जसले गर्दा सक्रिय व्यक्ति जो भीडभाडमा जान्छन् उनीहरुबाट संक्रमण समुदायमा फैलिन्छ।

अहिले देखिरहेको केसको तथ्यांक हेर्दा बढीजस्तो केस स्वाइन फ्लूको देखिएको उनको भनाइ छ ।

‘हङकङ फ्लूलाई विस्थापित गरेर स्वाइन फ्लूले ठाँउ लिएको छ । हङकङ फ्लूमा सामान्य लक्षण देखिन्थ्यो । स्वाइन फ्लूलेले भने लामो समयसम्म टाउको दुख्ने, खोकी पटक–पटक लाग्ने, छातीमा समस्या देखिने गराउँछ’ पुन भन्छन् ।

पहिलेभन्दा संक्रमणदर बढ्दै जानुको अर्को कारक खराब जीवनशैली रहेको डा.पुनको बुझाइ छ । ‘स्वच्छ वातावारण र पोषिलो खानेकुरा पाउन गाह्रो छ’ पुन भन्छन्, ‘शारीरिक गतिविधि कम छ । जसकारण प्रतिरोधात्मक क्षमता पहिलेको निकै कम छ ।’

रोगप्रतिरोधात्मक क्षमता कम हुनेबित्तिकै मौसम परिवर्तन हुँदा सक्रिय हुने जीवाणुको सम्पर्कमा आउँदा छिटै संक्रमण हुने डा.पुन बताउँछन् । क्रमशः संक्रमण एकबाट अर्कोमा सर्छ र जसले समुदायमै फैलिन्छ ।

संक्रमण लम्बिनुको कारक प्रदूषण

एक त इन्फ्लुएन्जाको संक्रमण, अर्कोतर्पm उपत्यकाको प्रदूषण र बाक्लो जनसंख्याले पनि भाइरलको प्रकोप बढीरहेको डा.प्रशान्त त्रिपाठीको भनाइ छ ।

‘जति बाक्लो बस्ती, त्यति चिसोमा सक्रीय भएको जीवाणु मानिसको सम्पर्कमा आउने र एकबाट अर्कोमा सर्ने हुन्छ’ डा. त्रिपाठी भन्छन्, ‘बाक्लो बस्ती, पानी परिरहेको छैन्, सुख्खा मौसम, धुवाँधुलो छ, प्रदूषण बढेर स्वास्थ्यमा असर पारिरहेको छ ।’

पहिलेभन्दा अहिले बढी सताउने खालको लक्षण लिएर बिरामी आइरहेको डा.त्रिपाठीले जानकारी दिए। ‘हरेक वर्ष जाडोको मध्यमा फ्लूका बिरामी भेटिन्छन् । यसपटक संख्या पनि धेरै छ । उनीहरुमा देखिएको लक्षण पनि हल्का फुल्का छैनन्, ‘उनी भन्छन्, ‘ज्वरो निको भएपनि खोकी लामो समयसम्म लाग्ने, छाती अत्याधिक दुख्ने, जिउ अत्याधिक दुख्नेजस्ता लक्षणले लामो समयसम्म सताएको पाइएको छ ।’

प्रदूषणका कणले नै शरीरलाई कमजोर बनाइरहेका बेला फ्लू संक्रमण हुँदा लक्षण लक्षण लम्बिने र कडा कडा हुने उनको बुझाइ छ ।
फ्लूको संक्रमण र प्रदूषण एकसाथ देखिँदा भाइरल संक्रमणको बिरामी निको हुन समय लागिरहेको कुरामा वीर अस्पतालका चिकित्सक डा.कमल थापा पनि सहमत छन् । प्रदूषणसँगै संक्रमणले घाँटी र फोक्सोलाई असर गरी अवस्था गम्भीर बनाएका केसहरू पनि भेटिएको डा.थापाले सुनाए ।

संक्रमणले फोक्सो कसरी प्रभावित हुन्छ ?

डा. थापाका अनुसार हावासँगै विभिन्न कणहरु उडिरहेका हुन्छन् । ती हामीले श्वास फेर्दासँगै शरीरभित्र जान्छन् । तीमध्ये कतिपय कण फोक्सोमा गएर बस्छन् । रक्तसञ्चार प्रणालीका माध्यमबाट शरीरका अन्य भागमा पुगेर समग्र स्वास्थ्य बिगार्छ ।

‘लक्षणको उपचार नपाउँदा, शरीरलाई पर्याप्त आराम नपुग्दा, दम भएका, रोगप्रतिरोधात्मक क्षमता कमजोर भएमा भाइरसको संक्रमण नाक, घाँटी र सासनली हुँदै फोक्सोसम्म पुग्नसक्छ’ डा.थापा भन्छन् । संक्रमणकै कारण वीर अस्तपालमा अहिले निमोनिया देखिएर आइसियूमै भर्ना भएका बिरामी समेत रहेको थापाले जानकारी दिए ।

कुन अवस्थामा चिकित्सककहाँ जाने ?

यदि सामान्य ज्वरो र रुघाखोकी मात्र भएमा आत्तिएर अस्पताल नै गइहाल्नु पर्ने अवस्था नभएको डा. थापा बताउँछन् । ‘ज्वरो घरेलु उपचारले घट्दै नघटेमा, छाती दुखाइ बढेमा, दैनिकीमै असर गरेमा, असामान्य लक्षण, श्वास–प्रश्वासमा समस्या भएमाा, लक्षणहरु केही दिन बित्दा पनि निको नभएमा अस्पताल जानुपर्छ’ डा.थापाको सुझाव छ ।

संक्रमणबाट बच्न के गर्ने ?

—भाइरल ज्वरो तीनदेखि पाँच दिनसम्म आफैं निको नभए तुरुन्त अस्पताल जाने ।

—आफ्नो प्रतिरोधात्मक क्षमता बढाउने खालका खानेकुरा खाने, झोलिलो पदार्थको सेवनमा बढी जोड दिने।

—घर वरिपरि सफा राख्ने, सरसफाइमा ध्यान दिने ।

—घरबाट बाहिर निस्कँदा मास्कको प्रयोग गर्ने ।

—बालबालिका, प्रतिरोध क्षमता कमजोर भएकाहरुले फ्लूविरुद्ध खोप लगाउने ।

—ज्वरो तथा रुघाखोकी आयो भन्दैमा विना चिकित्सकको परामर्शबिना कफ सिरप, साइनेक्स र एन्टिबायोटिक जस्ता औषधि सेवन नगर्ने।



लेकखको सम्बन्धमा

तपाईको प्रतिक्रिया