बनगाड कुपिण्डे–२ मा नवनिर्मित वडा कार्यालयको समुद्घाटन

सल्यान बनगाड कुपिण्डे नगरपालिका–२ मा निर्माण सम्पन्न भएको चार कोठे नवनिर्मित वडा कार्यालय भवनको  एक विशेष समारोहबीच नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले समुद्घाटन गर्नुभएको छ।

समुद्घाटन कार्यक्रममा उपप्रमुख पुरूषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी, नगर प्रवक्ता धन बहादुर पुनलगायतले मन्तव्य राख्दै स्थानीय तहको सेवा प्रवाह थप प्रभावकारी, जवाफदेही र नागरिकमैत्री हुने विश्वास व्यक्त गर्नुभयो।

चार कोठा, सभा हल र तीन वटा शौचालयसहितको सो भवन २०८० मङ्सिर १५ गतेदेखि निर्माण थालिएको हो। निर्माण कार्य २०८१ साल असोज मसान्तमा सम्पन्न भएको थियो। करिब १ करोड १ लाखको लागत अनुमान गरिएको यस योजनाअन्तर्गत सम्झौता रकम ६० लाख ४२ हजार रुपैयाँ तोकिएको थियो भने हालसम्म ५७ लाख ३८ हजार रुपैयाँ भुक्तानी गरिएको नगरपालिकाले जनाएको छ। यस्तै, भवनको ग्रील, पेटी तथा फिल्डसहित थप पाँच लाख बराबरको काम नगरपालिकाकै खर्चमा सम्पन्न गरिएको थियो। भवन निर्माणको जिम्मा तुलसीपुरस्थित वालन ब्रदर्स एन्ड सप्लायर्सले लिएको थियो।

समारोह वडा अध्यक्ष मान बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन वडा सचिव गणेश बुढाले गर्नुभएको थियो। कार्यक्रमका क्रममा वडा अध्यक्ष खत्रीले विगतमा भाडामा कार्यालय सञ्चालन गर्नुपरेको बाध्यता अन्त्य भएको भन्दै निर्माणमा सहकार्य गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा स्थानीय समुदाय, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने स्थानीय डिलाराम खत्रीलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।

 



लेकखको सम्बन्धमा

तपाईको प्रतिक्रिया