सल्यान वनगाड कुपिण्डे नगरपालिकाको आयोजनामा तथा प्रकृति मल्टीप्रपोज मिडिया प्रालिको सहजीकरणमा वडा नं. २ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी स्थानीयवासीहरूले विकास निर्माण, शिक्षा, रोजगारी, खानेपानीजस्ता सेवामा देखिएको समस्या समाधानका लागि जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराएका थिए।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख कर्णबहादुर बुढाथोकीले जनताको गुनासो, सल्लाह र सुझावहरूलाई सम्बोधन गर्दै योजनाहरू जनसहभागितामार्फत निर्माण तथा कार्यान्वयन गरिँदै आएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “निर्वाचनपश्चात् नगरवासीसँग छलफल गरेर पूर्वाधार, सामाजिक र आर्थिक विकासका योजना अघि बढाएका छौँ। सडक, कुलो, सिँचाइ, प्रशासनिक भवन, विद्यालय तथा वडा कार्यालय निर्माणजस्ता कार्यहरू प्राथमिकतामा छन्।”

नगरप्रमुख बुढाथोकीले शिक्षा क्षेत्रलाई नगरपालिकाको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै दरबन्दी मिलान, विद्यालय भवन निर्माण, कार्यविधि निर्माण लगायतका कार्यहरू सम्पन्न भइसकेको जानकारी दिनुभयो। संघीय सरकारको नीति र स्थानीय आवश्यकता बीच समन्वय नहुनु शैक्षिक सुधारमा चुनौतीको रूपमा रहेको पनि उहाँले बताउनुभयो।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख पुरुषोत्तम आचार्यले जनताको अपेक्षा उच्च भए तापनि स्रोत तथा साधन सीमित भएको अवस्थामा पनि नगरपालिकाले विकास निर्माणमा पूर्ण प्रतिबद्धता देखाएको बताउनुभयो। उहाँले खानेपानी, विद्युत्, सिँचाइ लगायतका सेवामा समस्या समाधान गर्नका लागि नगरपालिका जिम्मेवार रहेको स्पष्ट पार्नुभयो। “दिगो र गुणस्तरीय विकासका लागि समुदायको सक्रिय निगरानी अपरिहार्य छ,” उहाँको भनाइ थियो।

प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थीले योजना छनोटदेखि उपभोक्ता समिति गठन र कार्यान्वयन प्रक्रियामा पारदर्शिता कायम राखिएको बताउनुभयो। पारदर्शिता र जवाफदेहिताका कारण जनविश्वास बढेको उल्लेख गर्दै ‘एक घर, एक धारा’ कार्यक्रम पुनः अघि बढाइने जानकारी दिनुभयो।

नगर प्रवक्ता धनबहादुर पुनले स्थानीय तह स्थापना भएको आठ वर्षको अवधिमा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय भवनजस्ता भौतिक पूर्वाधारको विस्तार भइसकेको जानकारी दिनुभयो। “पक्की भवन निर्माणमा विशेष ध्यान दिइएको छ,” उहाँले भन्नुभयो, “जनताको आवश्यकता र चाहनाअनुसार योजना अघि बढाइँदै छन्।”
वडा सचिव गणेश वुढाले चालु आर्थिक वर्ष २०८१र०८२ मा वडा नं. मा करिब पाँच करोड रुपैयाँ बराबरका योजना सञ्चालनमा रहेको जानकारी दिनुभयो। उहाँका अनुसार जेठ मसान्तसम्म वडा कार्यालयमार्फत दुई लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ।
कार्यक्रम वडा अध्यक्ष मानबहादुर खत्रीको अध्यक्षता तथा पत्रकार प्रतीक इच्छुक शर्माको सञ्चालनमा सम्पन्न भएको थियो।








सल्यान अनलाइन । २०८२ जेष्ठ ३२ गते शनिवार