सल्यानको विद्युत विस्तारबारे पाँच बुँदे निर्णय

सल्यानको विद्युतिकरणको कार्यलाई तिव्रता दिईने भएको छ । जिल्ला समन्वय समिति सल्यानको अध्यक्षतामा जिल्लाको विद्युत विस्तारसम्बन्धी आयोजना कार्यान्वयनको अवस्था मूल्याङ्कन तथा समाधानका उपायहरू तय गर्न वसेको वैठकले सम्झौताको समयावधि २०८२ कार्तिक २९ गते भित्र सम्पन्न गर्ने कार्यलाई तिव्रता दिईने भएको छ ।
बैठकले जिल्लाको पूर्ण विद्युतिकरण तथा बाँकी रहेका टोल, बस्ती र वडाहरूमा विद्युत पहुँच विस्तार गर्न सम्बन्धित निकायहरूलाई कार्ययोजना सहित फिल्डमा खटिन निर्देशन दिएको छ। २०७८ साल असोजमा महाशक्ति–क्रिस्टल जेभीसँग १३ करोड बराबरको लागतमा गरिएको विद्युतिकरणसम्बन्धी ठेक्का सम्झौताअनुसार १८ महिनाको म्याद सकिएपछि थप गरिएको म्याद २०८२ कार्तिक २९ गतेसम्म कायम रहनेछ। उक्त म्यादभित्रै सम्पूर्ण कार्य सम्पन्न गर्न निर्देशन दिइएको छ।
नेपाल विद्युत प्राधिकरण र ठेकेदार कम्पनीको संयुक्त टोली भोलिदेखि फिल्डमा खटिनेछ। सम्पादन गरिने कार्यमा सबै स्थानीय तहहरूले आवश्यक सहकार्य तथा सहजीकरण प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्। पूर्ण विद्युतिकरण आयोजनाले नछोएका कुमाख, दार्मा, वागचौर, सिद्ध कुमाख, शारदा, कपुरकोट, छत्रेश्वरी र त्रिवेणी गाउँपालिकाका टोल, बस्ती र वडाहरूमा कर्णाली प्रदेश विद्युतिकरण आयोजनाअन्तर्गत कार्य तुरुन्तै सुरु गरिनेछ। काम समयमै सम्पन्न गर्न कार्ययोजना र जिम्मेवारी निर्धारण गरी फिल्डमा जान सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

जिल्ला समन्वय समिति सल्यानका प्रमुख वेलाराम रावलले छत्रेश्वरी र त्रिवेणी गाउँपालिकामा अपूरो रहेको सामुदायिक विद्युतिकरणको कार्य नेपाल विद्युत प्राधिकरणले आवश्यक प्रकृया अघि वढाएर गर्नुपर्ने निणर्य पनि वैठकले गरेको जानकारी दिनुभयो । उहाका अनुसार पूर्ण तथा सामुदायिक विद्युतिकरण आयोजनाबाट बाहिर रहेका वनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकाका क्षेत्रहरूमा समेत विद्युत विस्तारको काम नेपाल विद्युत प्राधिकरणले यथाशीघ्र सुरु गर्नेछ।
वनगाड कुपिण्डे नगरपालिका प्रमुख कर्णवहादुर वुढाथोकीले पूर्ण विद्युतिकरणको जीम्मेवारी लिएको निर्माण कम्पनिको लार्पवाहीले काममा ढिलाई भएकाले विद्युतिकरणमा समस्या भएको वताउनुभयो ।

नेपाल विद्युत प्राधिकरण प्रदेश निर्देशनालयका निर्देशक शशीभूषण शाहले तोकिएकै समयमा विद्युतिकरणको कार्य पुरा गर्ने गरी आवश्यक ब्यवस्था मिलाउने वताउनुभयो ।
विद्युतिकरणको जीम्मेवारी पाएको महाशक्ति–क्रिस्टल जेभीका प्रतिनिधि लिलबहादुर दर्लामीले थपिएको समयावधिमा कार्य सम्पन्न गर्ने गरी आफुहरु लागेको वताउनुभयो । उहाले भन्नुभयो आउदो कार्तिक २९ गते सम्म विद्युतिकरणका काम सक्छौ ।

वैठकमा वागचौर नगरपालिका नगरप्रमुख जनकराज गौतम, दार्मागाउँपालिका अध्यक्ष निमवहादुर केसी, कुमाख गाउँपालिका अध्यक्ष मानवहादुर वुढाथोकी, उपाध्यक्ष लालवहादुर रावत, त्रिवेणी गाउँपालिका अध्यक्ष खिमवहादुर रावत, छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओजवहादुर वुढाथोकी, जिल्ला समन्वय उपप्रमुख असविर वुढाथोकी, प्रमुख जिल्ला अ धिकारी नेत्र प्रसाद सुवेदी, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सल्यानका प्रमुख दिनेश पौडेल नेपाल पत्रकार महासंघ सल्यानका पूर्व अध्यक्ष प्रतीक इच्छुक शर्मा, सचिव बुद्धि पुनलगायत सरोकारवाला निकायका व्यक्तिहरूको उपस्थिति थियो।

 

बैठकबाट पारित पाँच बुँदे निर्णय निम्नानुसार छन् ।

१. विद्युत विस्तारको कार्य तोकिएको म्याद (२०८२ कार्तिक २९) भित्रै सम्पन्न गर्न निर्देशन दिइएको छ। म्याद पुनः थप नहुने स्पष्ट गराइएको छ।

२. नेपाल विद्युत प्राधिकरण र ठेकेदार कम्पनीको संयुक्त टोली भोलिदेखि क्षेत्रमै खटिनेछ। स्थानीय तहहरूले आवश्यक सहजीकरण र समन्वय गर्नेछन्।

३. पूर्ण विद्युतीकरणले नसमेटेका कुमाख, दार्मा, वागचौर, सिद्ध कुमाख, शारदा, कपुरकोट, छत्रेश्वरी र त्रिवेणी गाउँपालिकाका बस्तीहरूमा कर्णाली प्रदेश विद्युतिकरण आयोजनाको काम तुरुन्त सुरु गर्ने निर्णय गरिएको छ।

४. छत्रेश्वरी र त्रिवेणी गाउँपालिकामा अपूरो रहेको सामुदायिक विद्युतिकरण कार्य नेपाल विद्युत प्राधिकरणले तत्काल सुरु गरी सम्पन्न गर्नेछ।

५. पूर्ण तथा सामुदायिक योजना बाहिर रहेका वनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकामा पनि विद्युत विस्तारको कार्य तत्काल सुरु गर्न प्राधिकरणलाई निर्देशन दिइएको छ।

बैठकले जिल्लाभरको पूर्ण विद्युतीकरण कार्यमा देखिएको ढिलासुस्ती अन्त्य गर्दै निर्धारित समयभित्र कार्य सम्पन्न गर्न प्राधिकरण, ठेकेदार तथा पालिकाहरूबीच स्पष्ट कार्यविभाजनसहित समन्वयमा अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ।



लेकखको सम्बन्धमा

तपाईको प्रतिक्रिया