सूचना प्रविधिको प्रयोगमार्फत सरकारी कार्यालयहरूमा सेवा प्रवाहलाई थप प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले सल्यान बनगाड कुपिण्डे नगरपालिकाले हालसम्म ४७ वटा कार्यालयहरूमा ई–हाजिरी प्रणाली जडान गरेको छ।
नगरपालिकाका सूचना अधिकारी शिवराज नकालले चालु आर्थिक वर्ष २०८१/८२ र अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा गरी कुल ४७ कार्यालयहरूमा ई–हाजिरी जडान गरिएको वताउनुभयो । उहाका अनुसार तीमध्ये नगरपालिका कार्यालय, १२ वटै वडा कार्यालय, ७ वटा स्वास्थ्य चौकी, ८ वटा माध्यमिक विद्यालय, १० वटा आधारभूत विद्यालय, ३ वटा प्राथमिक विद्यालय, थप ५ वटा आधारभूत विद्यालय तथा १ शहरी गरी ६ वटा स्वास्थ्य सेवा केन्द्रमा यो प्रविधि स्थापना गरिएको छ।
नगरपालिकाले प्रविधिमा आधारित सेवा प्रणालीमार्फत स्थानीय तहमा सुशासन, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न ई–हाजिरी प्रणाली जडान सुरु गरेको हो। सूचना अधिकारी नकालका अनुसार कार्यालयमा नियमित रुपमा उपस्थित हुने, समयमा सेवा प्रदान गर्ने र सेवाग्राहीको काममा ढिलासुस्ती रोक्न यो प्रविधि उपयोगी हुने विश्वास गरिएको छ। वनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख कर्णवहादुर वुढाथोकीले सार्वजनिक निकायमा कार्यरत कर्मचारीहरूलाई समयमै कार्यालयमा उपस्थित गराउने, सेवा प्रवाहमा नियमितता ल्याउने र कार्यप्रति उनीहरूलाई जिम्मेवार बनाउने लक्ष्यका ई हाजिरी प्रणाली ल्याएका सञ्चालन गरिएको वताउनुभयो । उहाले भन्नुभयो सुशासन र सेवा प्रवाहमा सुधार ल्याउन प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएको सन्दर्भमा ई–हाजिरी प्रणाली पहिलो महत्त्वपूर्ण पाइलाका रूपमा लिइएको छ।
ई–हाजिरी प्रणालीले प्रत्येक कर्मचारीको हाजिरी अनलाइन प्रणालीमा अभिलेख राख्ने भएकाले सम्बन्धित निकायले पनि कर्मचारीको उपस्थिति, कार्यसम्पादन तथा जिम्मेवारीको मूल्याङ्कन गर्न सजिलो हुने छ । नयाँ प्रविधिको प्रयोग गरेर कार्यसम्पादनमा सुधार आउने अपेक्षा लिएको प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थीले वाताउनुभयो । उहाले भन्नुभयो प्रवीधिको उपयोग बारे सीपको पनि अभिवृद्धि गरिने छ ।
हालसम्मको अनुभवका आधारमा यो प्रणाली प्रभावकारी देखिएकाले बाँकी रहेका अन्य कार्यालयहरूमा पनि चरणबद्ध रूपमा विस्तार गरिने नगरपालिकाले जनाएको छ। साथै, आवश्यक परेको खण्डमा तालिम तथा प्रविधिमैत्री दक्ष जनशक्ति विकासका कार्यक्रमसमेत अघि बढाइने भएको छ।
बनगाड कुपिण्डे नगरपालिका सूचना प्रविधिमा आधारित सेवा प्रणाली कार्यान्वयन गर्ने कर्णाली प्रदेशकै अगुवा स्थानीय तहहरूमध्ये एक बनेको छ।







सल्यान अनलाइन । २०८२ असार २२ गते आइतवार