शारदा नगरपालिकाद्वारा आर्थिक वर्ष २०८१र८२ मा ८५ प्रतिशतको हाराहारीमा योजना कार्यान्वयन, समयमै भुक्तानी प्रक्रिया सम्पन्न

शारदा नगरपालिका, सल्यानले आर्थिक वर्ष २०८१/८२ मा नीति, योजना तथा बजेट कार्यान्वयनमा उल्लेखनीय प्रगति हासिल गर्दै सम्पूर्ण योजना तथा कार्यक्रमहरूको भुक्तानी प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ। चालुतर्फ ८३.७४ प्रतिशत र पुँजीगत तर्फ ८८.३६ प्रतिशत प्रगति हासिल गर्दै कुल औसत ८४.९० प्रतिशत कार्य सम्पादन भएको नगरपालिकाले जानकारी दिएको छ।

प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाका अनुसार स्वीकृत योजना तथा कार्यक्रमहरूमध्ये अधिकांश कार्यहरू समयमै सम्पन्न भएका छन् भने बजेट खर्चसमेत निर्धारित सीमा नजिक पुगेको छ। “हामीले बजेटको समयानुकूल कार्यान्वयनमा विशेष ध्यान दियौं। योजनाको छनोटदेखि कार्य सम्पन्न र भुक्तानी प्रक्रिया पारदर्शी र उत्तरदायी बनाउने प्रयास ग¥यौं,” देवकोटाले बताउनुभयो।

सहकार्यमा सफल कार्यान्वयन
योजनाहरूको सफल कार्यान्वयनमा जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समिति, निर्माण व्यवसायी, सरोकारवाला निकाय, सञ्चारकर्मी, नागरिक समाज लगायत सम्पूर्ण नगरवासीहरूको सक्रियता र सहयोगले महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ।

देवकोटाले भन्नुभयो“संसाधनको सीमितताबीच पनि समन्वय, निगरानी र स्थानीय सहभागिताले गर्दा यो सफलता सम्भव भएको हो। आगामी वर्षहरूमा अझ प्रभावकारी योजना छनोट र कार्यान्वयनका लागि हामी प्रतिबद्ध छौं।”

नगर प्रमुखको धन्यवाद ज्ञापन
नगर प्रमुख प्रकाश भण्डारीले पनि सफल कार्य सम्पादनमा योगदान दिने सबैलाई धन्यवाद ज्ञापन गर्दै समर्पण, इमान्दारिता र सक्रिय सहभागिताले मात्र सुशासन र समृद्धिको यात्रा सम्भव हुने वताउनुभयो । उहाले भन्नुभयो “हाम्रो समृद्ध, स्वच्छ र सक्षम शारदा निर्माणको यात्रामा तपाईंहरूको निरन्तर साथ, समर्पण र सहयोगले हामीलाई अझ ठूलो प्रेरणा दिएको छ,”।

उहाँले सेवा प्रवाह र विकास निर्माणमा देखिएको प्रगति आगामी दिनहरूमा अझ सुदृढ बनाउने उद्देश्यका साथ नीति निर्माण र योजना कार्यान्वयन प्रक्रियामा सुधार ल्याइने उल्लेख गर्नुभयो।

आगामी वर्षको तयारी
शारदा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ मा समेत नीति, योजना र कार्यक्रमहरूलाई प्रभावकारी र परिणाममुखी बनाउँदै लगानीको उच्च प्रतिफल प्राप्त गर्ने लक्ष्य लिएको छ। स्थानीय आवश्यकता, समावेशी सहभागिता र दीगो विकासलाई प्राथमिकता दिँदै योजनाहरू तय गरिने प्रमुख प्रशासकीय अधिकृतको भनाइ छ।

नागरिक सहभागितामै समृद्धिको आधार
शारदा नगरपालिकाले नागरिक सहभागिता र सार्वजनिक जवाफदेहितालाई सशक्त बनाउनका लागि विभिन्न सार्वजनिक सुनुवाइ, अनुगमन, सूचना प्रकाशन तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस्ता अभ्यासले नगरवासीमा स्थानीय सरकारप्रति भरोसा बढाएको विश्वास नगरपालिकाले लिएको छ।



लेकखको सम्बन्धमा

तपाईको प्रतिक्रिया