डिभिजन वन कार्यालय सल्यान ८४.८८ प्रतिशत बजेट खर्च गर्दै उत्कृष्ट वन समूहलाई सम्मान


डिभिजन वन कार्यालय सल्यानले आर्थिक वर्ष २०८१/८२ मा ८४ दशमलव ८८ प्रतिशत बजेट खर्च गरेको छ। साथै, सामुदायिक तथा कबुलियत वनको संरक्षण र संस्थागत सुदृढीकरणमा योगदान पुर्‍याउने छवटा उत्कृष्ट वन समूहलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ।

बिहीबार खलंगामा सम्पन्न जिल्ला वन क्षेत्र समन्वय समिति बैठक तथा पुरस्कार वितरण कार्यक्रममा कार्यालयले चालु आर्थिक वर्षको कार्यप्रगति सार्वजनिक गर्दै बजेट कार्यान्वयन र उत्कृष्ट समूहको योगदानलाई औपचारिक रूपमा प्रशंसा गरेको हो।

कार्यालयका अनुसार चालु आवमा प्राप्त ८ करोड ३६ लाख ९० हजार रुपैयाँमध्ये चालु खर्चतर्फ ५ करोड ६१ लाख ७९ हजार रुपैयाँमा ४ करोड ६५ लाख ५३ हजार रुपैयाँ खर्च (८२ दशमलव ८७ प्रतिशत) गरिएको छ भने पुँजीगततर्फ २ करोड ७५ लाख ११ हजार रुपैयाँमध्ये २ करोड ४४ लाख ७९ हजार रुपैयाँ खर्च (८८ दशमलव ९८ प्रतिशत) गरी समग्रमा ८४ दशमलव ८८ प्रतिशत बजेट खर्च भएको हो।

कार्यक्रममा वन कार्यालयले जिल्लाका १० वटै पालिकामा वन क्षेत्र व्यवस्थापन, अतिक्रमण नियन्त्रण, संस्थागत लेखा प्रणाली सुदृढीकरण तथा उपभोक्ता समूहहरूलाई सेवा पु¥याउने कार्यमा प्राथमिकता दिइएको उल्लेख गर्‍यो।

शारदा नगरपालिका–१५ स्थित लिकढिक क्षेत्रमा अतिक्रमण हटाई ६ रोपनी वन क्षेत्र संरक्षण गरिएको, छत्रेश्वरी गाउँपालिका–२ मा करिब १७ रोपनी अतिक्रमण हटाइएको, करिब एक हेक्टर अतिक्रमित जमिनमा कृषि बाली लगाइएको तथा ४२४ सामुदायिक वन उपभोक्ता समूहलाई स्थायी लेखा नम्बर प्राप्तिका लागि सिफारिस गरिएको कार्यालयले जनाएको छ।

उत्कृष्ट वन समूहहरूलाई पुरस्कार

वन संरक्षण, सदुपयोग तथा संस्थागत उत्तरदायित्वमा योगदान पुर्‍याएको भन्दै उत्कृष्ट सामुदायिक र कबुलियत वन समूहहरूलाई प्रशंसा पत्रसहित नगद पुरस्कार प्रदान गरिएको छ।

सामुदायिक वनतर्फ:

  • प्रथम: सल्लेरी सामुदायिक वन उपभोक्ता समूह, बनगाड कुपिण्डे नगरपालिका–४, डोप्के — नगद रु. १५,०००

  • द्वितीय: भुवनेश्वरी सामुदायिक वन उपभोक्ता समूह, छत्रेश्वरी गाउँपालिका–६, लान्ती — नगद रु. १२,०००

  • तृतीय: जालमारे सामुदायिक वन उपभोक्ता समूह, सिद्धकुमाख गाउँपालिका–१ — नगद रु. १०,०००

कबुलियत वनतर्फ:

  • प्रथम: हरियाली कबुलियत वन समूह, कालिमाटी गाउँपालिका–२ — नगद रु. १५,०००

  • द्वितीय: सिम कबुलियत वन समूह, बनगाड कुपिण्डे नगरपालिका–१, बेलखोला — नगद रु. १२,०००

  • तृतीय: लालीगुराँस कबुलियत वन समूह, शारदा नगरपालिका–६, मदमकाडा — नगद रु. १०,०००

सामुदायिक नेतृत्व र संस्थागत भूमिका आवश्यक

कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख टेकबहादुर रावलले सामुदायिक र कबुलियत वनहरूको संरक्षण, व्यवस्थापन र विकासका लागि स्थानीय समुदायको सक्रियता अपरिहार्य रहेको बताउनुभयो। “अहिले राज्यले वनको अधिकार समुदायलाई दिएको छ। अब सबैले यसको संरक्षण र समुचित प्रयोगमा गम्भीर हुनुपर्छ,” उहाँले भन्नुभयो।

उहाँले वन कार्यालयको समन्वयमा इमान्दारीपूर्वक कार्य गर्दै समग्र वन व्यवस्थापनमा नवीनता थप्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख बेलाराम रावल, उपप्रमुख असविर बुढाथोकी, सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष पुरुषोत्तम भट्टराईलगायत सरोकारवालाको उपस्थिति रहेको थियो।

वन क्षेत्रको अवस्था

डिभिजन वन कार्यालयका अनुसार सल्यानमा हाल:

  • राष्ट्रिय वन: ५९ हजार ७८१ दशमलव १० हेक्टर

  • सामुदायिक वन: ६३० वटा समूह, ६४ हजार ३७७ दशमलव ९९ हेक्टर

  • कबुलियत वन: २०३ समूह, १ हजार ९८ दशमलव ९० हेक्टर

  • धार्मिक वन: २ ठाउँ, ४ दशमलव ४० हेक्टर

  • निजी वन: ५१ समूह, १४ दशमलव ९८ हेक्टर वन क्षेत्र रहेको छ।

डिभिजन वन कार्यालयले आगामी वर्षमा वन संरक्षणमा स्थानीय नेतृत्व अझ प्रभावकारी बनाउन, अतिक्रमण नियन्त्रण, पारदर्शी लेखा प्रणाली तथा वनबाट दिगो लाभ सुनिश्चित गर्नका लागि नीति कार्यान्वयनलाई प्राथमिकता दिने जनाएको छ।



लेकखको सम्बन्धमा

तपाईको प्रतिक्रिया