राप्ती राजमार्ग अन्तर्गत कपुरकोट–तुलसीपुर सडकखण्डको चोरखोला क्षेत्रमा संघीय सांसद तथा पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुधबार स्थलगत निरीक्षण गर्नुभएको छ। बर्खायाममा चोरखोलामा दैनिकजसो पहिरो खस्दा यात्रुहरू जोखिममा पर्ने र घण्टौँसम्म सवारीसाधन अवरुद्ध हुने समस्या बढेपछि समाधानका लागि सांसद ज्वालाले सरोकारवाला निकायसहित निरीक्षण र छलफल गर्नुभएको हो।
स्थलगत निरीक्षणपछि सांसद ज्वालाले भन्नुभयो: “पहिरो खस्नासाथ तत्काल हटाउने व्यवस्थाका लागि सडक डिभिजन कार्यालय दाङसँग सहमति भएको छ। नागरिकले बारम्बार सास्ती भोग्नुपर्ने अवस्थाको अन्त्य गर्न हामीले पहिरो नियन्त्रणका दिगो उपायहरू अपनाउनेछौँ।”
उहाँका अनुसार चोरखोला क्षेत्रमा सडकको दायाँबायाँ जाली लगाउने, नाली सफा गर्ने, र सडक मर्मतको काम तीव्र रूपमा अगाडि बढाउने योजना छ। “सम्धिमोडदेखि खारखोलासम्मको स्तरोन्नतिको काम चाँडै सम्पन्न गरिनेछ,” सांसद ज्वालाले भन्नुभयो, “समयमै गुणस्तरीय काम सम्पन्न हुनेमा हामी आशावादी छौँ।”
निरीक्षण तथा छलफल कार्यक्रममा कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारी, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल, वनस्पति अनुसन्धान केन्द्र मूलपानीका प्रमुख डा. मित्र पाठक, सडक डिभिजन दाङकी इन्जिनियर अन्जु सुवेदी, समाजसेवी भद्रसिंह बुढा, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष रमेश गौतम, निर्माण व्यवसायी, सुरक्षा निकाय तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।







सल्यान अनलाइन । २०८२ साउन २२ गते बुधवार