कर्णाली प्रदेशको बुधबारको संसद् बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता राजकुमार शर्मा अत्यन्त आक्रामक रूपमा प्रस्तुत हुनुभएको छ।
मुख्यमन्त्री यामलाल कँडेलले आफू ‘एक्लो प्रयास’मा सीमित भएको अभिव्यक्ति दिएपछि सांसद शर्माले त्यसलाई अपमानजनक र गैरजिम्मेवार ठहर गर्दै संसद्मै प्रश्नहरूको वर्षा गर्नुभयो। उहाँले मुख्यमन्त्रीको उक्त भनाइ संसद् र सत्ता साझेदार दलहरूको अवमूल्यन गर्ने प्रयास भएको टिप्पणी गर्नुभयो।
शर्माले सोध्नुभयो, “म एक्लै गएँ, लङ्का एक्लै जितेँ भन्न खोज्नुभएको हो ? कि क्याबिनेटमा म एक्लै छु भन्नुभएको हो ? वा सत्ता साझेदारले साथ दिएको छैन भन्न खोज्नुभएको हो ?”
उहाँले मुख्यमन्त्रीको अभिव्यक्तिले संसद्लाई भेडाबाख्राको बथानसरह देखाएको आरोप लगाउँदै भन्नुभयो, “एक्लै गर्ने भए किन चाहियो यो सदन ? आफ्नै खोर्के खोलाबाट चलाए पुगिहाल्थ्यो नि !”
“प्रतिपक्षले कहाँ रोक्यो ? प्रमाण पेस गर्नुस्”
शर्माले प्रतिपक्षले सरकारको राम्रो काममा अवरोध गरेको प्रमाण पेस गर्न मुख्यमन्त्रीलाई खुला चुनौती दिनुभयो। उहाँले व्यङ्ग्यात्मक शैलीमा भन्नुभयो, “तपाईँले यति हजारलाई रोजगारी दिन खोजेको थिएँ, विपक्षले दिएन। हुम्लामा चिरे घर बनाउन खोजेको थिएँ, विपक्षले दिएन, भनेर सूची ल्याउनुस् त !”
शर्माले दसौँ राष्ट्रिय खेलकुद, अस्पताल सुधार, प्राविधिक कर्मचारी नियुक्ति जस्ता कार्यक्रमहरूमा प्रतिपक्षले अवरोध नगरेको प्रष्ट पार्दै त्यसबारे मुख्यमन्त्रीको आरोप निराधार भएको जिकिर गर्नुभयो।
सरकारको असफलताको सूची पनि प्रस्तुत
प्रतिपक्षी नेता शर्माले कर्णाली सरकारको कार्यसम्पादनमाथि गम्भीर प्रश्न उठाउनुभयो। उहाँले भन्नुभयो, “अहिलेसम्म रंगशालाको भुक्तानी दिन सकिएको छैन। खेलकुद परिषद् महिनौंदेखि रिक्त छ। यिनै कुरा विपक्षीले रोकेको हो र ?”
शर्माले संवैधानिक निकायमा नियुक्ति हुन नसकेको, बजेट कार्यान्वयनमा ढिलाइ, र ठेक्का प्रक्रिया रोकिएको जस्ता विषयमा सरकारको निष्क्रियता औंल्याउनुभयो। उहाँले थप भन्नुभयो, “भुक्तानी दिनुपर्ने ठाउँमा अहिलेसम्म नदिएको ? लाज लाग्दैन ? बोल्दा केही हेक्का राख्नुपर्छ नि ! कि हामीलाई हेप्न खोजेको हो ?”
सत्ता साझेदार र बजेट प्रक्रिया पनि आलोचनाको घेरामा
उहाँले मुख्यमन्त्रीमात्र नभई सत्ता साझेदार दलका मन्त्रीहरूलाई समेत प्रश्न गर्दै भन्नुभयो, “किन मुख्यमन्त्रीलाई एक्लै हिँडाइरहनुभएको छ ? तपाईँहरू के गरिरहनुभएको छ ?”
शर्माले सत्तारुढ दलका नेता जीवनबहादुर शाहीलाई लक्षित गर्दै भन्नुभयो, “किन एक्लो प्रयासतिर धकेलिरहनुभएको ? साथ दिनुस् न, काँध बोकेर लानुस् !”
उहाँले बजेट निर्माणका क्रममा भएको ७ बुँदे सहमतिलाई मुख्यमन्त्रीले उल्लंघन गरेको आरोप पनि लगाउनुभयो। “१५ दिनभित्र बुझाइने भनिएको कार्यान्वयन सूची अझै नआएको हो, यो सहमति पालना हो ?” भन्ने प्रश्न समेत उठाउनुभयो।
शर्माले अन्त्यमा सरकारी कर्मचारीको सरुवा, बढुवा, र पदस्थापनमा राजनीतिक हस्तक्षेप र पक्षपात भएको गम्भीर आरोपसमेत लगाउनुभयो।







सल्यान अनलाइन । २०८२ साउन २३ गते बिहिवार