सल्यानमा शहीद नेत्रलाल अभागी स्मृति प्रतिष्ठानको भवनको उद्घाटन भएको छ। प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले भवनको उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ज्वालाले शहीद नेत्रलाल अभागी बहुआयामिक व्यक्तित्व भएको बताउनुभयो। उहाँले भन्नुभयो, “साहित्यिक, सामाजिक व्यक्तित्व मात्र होइन, मुख्यगरी राजनीतिक व्यक्तिको रूपमा अभागीलाई लिन सकिन्छ।“
प्रतिष्ठानका संस्थापक समेत रहेका ज्वालाले अभागी कम्युनिस्ट राजनीति, प्रगतिशील साहित्यिक लेखन र शिक्षण क्षेत्रमा एक आदर्श व्यक्तित्व रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार, “कम्युनिस्ट राजनीतिमा बलिदान, समर्पण र अटल विचारधाराका प्रतीकका रूपमा उहाँ रहनुभएको छ।“
शहीद नेत्रलाल अभागी स्मृति प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शम्भु गौतमले प्रतिष्ठानमार्फत अभागीको समग्र सोच, आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा उहाँको योगदानको खोज गरी संस्थागत रूपमा विस्तार गरिरहेको जानकारी दिनुभयो।
शहीद नेत्रलाल अभागी स्मृति प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष लक्ष्मण ज्ञवालीले प्रतिस्ठान मार्फत स्मृति ग्रन्थ, साहित्यीक कृति सहित नेत्रलाल अभागीका रचना संकलन लगायतका कार्य गरेको वताउनुभयो ।
स्मृति प्रतिष्ठान सल्यान शाखाका अध्यक्ष इन्द्र कुमार शर्माले प्रतिष्ठानमार्फत रचनात्मक कार्य सञ्चालन गरिने बताउनुभयो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी, नेकपा(एकिकृत समाजवादी) कर्णाली प्रदेश अध्यक्ष ठकेन्द्रप्रकाश पुरी, सल्यान अध्यक्ष रमेश कुमार गौतम लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन प्रतिस्ठानका सचिव सन्तोष विसीले गर्नुभएको हो ।

आर्थिक वर्ष २०८१÷८२ मा संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, सुर्खेतबाट रु. ८५ लाख र अघिल्लो आवमा कर्णाली प्रदेश सरकारबाट रु. २५ लाख गरी १ करोड १५ लाख लागतमा भवन निर्माण गरिएको हो। तोकिएकै समयमा, २०८२ असार मसान्तमा डिएसटी निर्माण सेवाले भवन निर्माण कार्य सम्पन्न गरेको हो। भवन निर्माण्का लागि शारदा नगरपालिका १५ का रामचन्द्र रेग्मीले जग्गा उपलब्ध गराउन’भएको हो ।
सहिद नेत्रलाल पौडेल ‘अभागी’

वि.सं. २००१ पुस २७ गते दाङ जिल्लाको धर्ना गाविस–२, सिसैपुर गाउँमा जन्मिनु भएका सहिद नेत्रलाल पौडेल ‘अभागी’ नेपालको कम्युनिस्ट आन्दोलन र प्रगतिशील साहित्यका उल्लेखनीय व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको राजनीतिक जीवन जम्मा १९ वर्षको भए पनि त्यसमा ११ वर्ष पूर्णरूपमा भूमिगत रही कठोर राजनीतिक संघर्षमा बिताउनुभएको थियो, जसलाई उहाँको जीवनको उत्कर्षकाल मानिन्छ।
वि.सं. २०२२ सालमा नेपाली विषयमा बिए अनर्स अध्ययन पूरा गर्नुभएका उहाँले २०२३ सालदेखि शिक्षण र राजनीतिमा समानान्तर रूपमा सक्रिय रहनुभयो। पुष्पलाल समूहसँग आबद्ध भई अर्घाखाँची–गुल्मी संयुक्त प्र.ने.क.पा. जिल्ला कमिटीमा कार्यरत रहँदै सोही वर्ष पार्टी सदस्यता लिनुभएको थियो। पार्टीमा प्रवेश गरेपछि उहाँले संगठन विस्तार, जनचेतना अभिवृद्धि र विचारधाराको प्रचार–प्रसारमा महत्वपूर्ण योगदान दिनुभयो।
वि.सं. २०३० श्रावण २५ गतेदेखि उहाँ पूर्णरूपमा भूमिगत जीवनमा प्रवेश गर्नुभयो। २०३१ सालको चौथो महाधिवेशनपछि उहाँ सुदूरपश्चिम क्षेत्रीय ब्युरो सदस्य बन्नुभयो र २०३६ साउनमा नेकपा (माले) केन्द्रीय सदस्यको जिम्मेवारी पाउनु भयो। भूमिगत जीवनका कठोर परिस्थिति, निरन्तर राजनीतिक संघर्ष र संगठनात्मक जिम्मेवारीले उहाँलाई जनताको अधिकारका लागि समर्पित योद्धा बनायो।
राजनीतिसँगै साहित्यमा पनि उहाँ उतिकै सक्रिय रहनुभयो। अध्ययनकै क्रममा भूपि शेरचन, गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र जस्ता साहित्यकारका कृतिबाट प्रेरणा पाई मुक्तक, गीत, कविता, कथा, नाटक, समालोचना र अनुवादका क्षेत्रमा कलम चलाउनुभयो। राजनीतिक विषयवस्तु, विश्वक्रान्ति र जनजीवनका यथार्थलाई साहित्यमा उतार्नु उहाँको विशेषता रह्यो। वि.सं. २०१५ देखि मृत्युपर्यन्त उहाँको साहित्यिक यात्रा निरन्तर जारी रह्यो। शहीद नेत्रलाल अभागीको चर्चित कविता ‘सातीसाल मात्र ठिङ उभिन सक्छ’ रहेको छ।
वि.सं. २०७४ सालमा उहाँलाई सहिद घोषणा गरियो। उहाँको योगदानको सम्मानस्वरूप नेपाल सरकारले २०८० फागुन ४ गते उहाँको तस्बिर अङ्कित हुलाक टिकट सार्वजनिक ग¥यो। यसरी राजनीतिक संघर्ष र प्रगतिशील साहित्यिक सृजनामा समान योगदान पु¥याउनुभएको सहिद नेत्रलाल पौडेल ‘अभागी’ नेपाली जनआन्दोलन र साहित्यको प्रेरणादायी पात्रका रूपमा सदैव स्मरणीय रहनु भएको छ।







सल्यान अनलाइन । २०८२ साउन २४ गते शुक्रवार