
बन्गाड खोलामा स्टिल पुल बनेपछि अब राउचेका बालबालिकाले वर्षामा पनि सुरक्षित रूपमा विद्यालय आवतजावत गर्न पाएका छन् ।
पहिले खोला बढ्दा त्रिभुवन जनता मावि च्युरामा पढ्ने विद्यार्थीहरू जोखिम मोलेर किनारैकिनार डुंगुवा हिँड्दै विद्यालय जान बाध्य हुने गरेका थिए । स्थानीयका अनुसार वर्षाको समयमा सयभन्दा बढी विद्यार्थी ज्यानको जोखिम मोलेर खोला पार गर्थे ।
पूर्वाधार विकास कार्यालय सल्यानका सूचना अधिकारी सिद्धार्थ मिश्रले स्टील पुल रहेको वताउनुभयो । उहाका अनुसार विद्यार्थीलाई सहज बनाउन पूर्वाधार विकास कार्यालय सल्यानले आर्थिक वर्ष २०८१/०८२ मा ५२ लाख रुपैयाँ विनियोजन गरेर करिब ३२ मिटर लामो स्टिल पुल निर्माण गरेको थियो । पुल बनेपछि अहिले बालबालिका मात्रै नभई स्थानीयलाई पनि सुविधा भएको पुल निर्माण समितिका अध्यक्ष नीमराज सुनारले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले वर्षाको समयमा स–साना बालबालिकालाई अभिभावकले खोला किनारमै पु¥याएर विद्यालय पठाउँथे, कतिपय अवस्थामा स्थानीयले बोकेर खोला पार गराउनुपर्ने बाध्यता हुन्थ्यो । अब सबै उमेरका विद्यार्थी सहजै पुल तरेर विद्यालय जान सक्छन् ।”
स्थानीय सुशीला विकका अनुसार विगतमा खोला बढ्दा पढाइमा असर पर्ने गरेकोमा अहिले विद्यार्थी नियमित विद्यालय जान पाएका छन् । उहाँले जानकारी दिनुभयो, “राउचेबाट दैनिक सयजति विद्यार्थी पुल तरेर विद्यालय जान्छन् ।”
त्यसैगरी अभिभावक रेसमबहादुर खत्रीले पुल बनेपछि विगतजस्तो वर्षाको बेला बालबालिकालाई आधा बाटोसम्म छाड्नुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो ।







सल्यान अनलाइन । २०८२ भाद्र १ गते आइतवार