सल्यानमा म्याद नाघेका १ लाख ५४ हजार भन्दा बढीका अखाद्य सामग्री नष्ट

उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सल्यानमा म्याद नाघेका सामग्री नष्ट गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको समन्वयमा जिल्ला प्रशासन कार्यालय सल्यान र पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको समन्वयमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका उपभोग्य सामग्री बरामद गरिएकामा ती सबै सामग्री नष्ट गरिएको हो ।
जिल्लाको श्रीनगर र सल्लीबजार क्षेत्रका विभिन्न पसलमा गरिएको अनुगमनबाट कुल १ लाख ५४ हजार ६ सय रुपैयाँभन्दा बढी मूल्य बराबरका म्याद नाघेका सामग्री संकलन गरि नस्ट गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख श्याम खरालले जानकारी दिनुभयो ।  उहाँका अनुसार ती सामग्रीहरू उपभोग गर्न अयोग्य भइसकेका र सार्वजनिक स्वास्थ्यमा प्रतिकूल असर पार्ने सम्भावना भएकाले नष्ट गरिएको हो ।
अनुगमन टोलीले श्रीनगर र सल्लीबजारका किराना पसल, मासु पसल, दूध डेरी, तथा एग्रोभेट, कस्मेटिक पसल व्यवसायमा छापा मारेको थियो । अनुगमनका क्रममा दाना, पशुपन्छीका औषधी, आटा, कुरमुरे, कुरकुरे, चाउचाउ, बिस्कुट, कस्मेटिक लगायतका विभिन्न उपभोग्य वस्तुहरू म्याद नाघेको अवस्थामा फेला परेका उहाँले बताउनु भयो । कार्यालयले व्यवसायीहरूलाई उपभोग्य वस्तु बिक्री गर्दा म्याद, गुणस्तर र सुरक्षित भण्डारणको विशेष ध्यान दिन निर्देशन दिएको बताउनु भयो । प्रमुख खरालका अनुसार “म्याद सकिएका वस्तुको उपभोग स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन सक्छ। त्यसैले यस्ता वस्तु बिक्री गर्नेहरूलाई कडाइका साथ कारबाही प्रक्रिया अगाडि बढाइनेछ । ”
यस किसिमका अभियानहरू उपभोक्तालाई सचेत गराउन र बजारमा गुणस्तरीय वस्तुहरूको पहुँच सुनिश्चित गर्न आवश्यक रहेको सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले जानकारी दिनुभयो । नियमित बजार अनुगमन गरेमा उपभोक्ता र व्यापारी सचेह हुने उहाँले बिश्वास गर्नुभयो । आगामी दिनमा पनि जिल्लाका अन्य क्षेत्रहरूमा यस्तै किसिमका अनुगमनलाई निरन्तरता दिइने बताउनु भयो ।



लेकखको सम्बन्धमा

तपाईको प्रतिक्रिया