सल्यानमा २२ औँ निजामती सेवा दिवस विभिन्न कार्यक्रमहरू आयोजना गरी भव्य रूपमा मनाइएको छ । “व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन” भन्ने मूल नाराका साथ कर्मचारी मिलन केन्द्र सल्यानको समन्वयमा तथा जिल्ला प्रशासन कार्यालय सल्यानको मुल समारोहमा दिवसका अवसरमा विविध कार्यक्रमहरू सम्पन्न भएका हुन् ।
आइतबार बिहानै सदरमुकाम खलंगामा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । प्रभातफेरी पुरानो बसपार्कबाट सुरु भई ठन्डी सडक, पुरानो नेपाल बैंक, हुलाक रोड हुँदै पुनः बसपार्कमै पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । प्रभातफेरीमा सहभागी कर्मचारी, सुरक्षाकर्मी, पत्रकार र स्थानीयबासीहरूले हातमा प्लेकार्ड बोकेर निजामती सेवाको महत्त्व र सुशासनप्रति आफ्नो प्रतिबद्धता जनाएका थिए ।

औपचारिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले निजामती कर्मचारीहरू राष्ट्र निर्माणका आधारशिला भएको उल्लेख गर्दै उनीहरू जनताको प्रत्यक्ष सरोकारका सेवामा खटिने वर्ग भएको बताउनुभयो । उहाँले कर्मचारीहरूको व्यावसायिकता, इमान्दारी र निष्पक्षतामार्फत सुशासनलाई सुदृढ बनाउन सकिने बताउँदै निजामती सेवामा अझ प्रभावकारिता आवश्यक रहेकोमा जोड दिनुभयो ।
त्यस्तै, कर्मचारी मिलन केन्द्रका अध्यक्ष धिरेन्द्र भण्डारीले निजामती सेवाले मात्र नभई सम्पूर्ण प्रशासनिक प्रणालीप्रति विश्वास बढाउनका लागि सेवामुखी, पारदर्शी र उत्तरदायी भएर काम गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले राष्ट्रसेवक कर्मचारीहरूले जनताको सेवामा समर्पित भएर कार्य गरे समाजमा सकारात्मक दृष्टिकोण विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
दिवसका अवसरमा खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिएको थियो । व्याडमिन्टन प्रतियोगितामा महेन्द्र केसी र मनोज सिंह प्रथम भएका थिए भने गणेश डाँगी र प्रदिप चन्द द्धितीय भए । लोकेन्द्र डाँगी, टिकाराम भण्डारी, शिवराज कवर र दिपक पुन तृतीय स्थानमा घोषित भए ।

कविता वाचन प्रतियोगितामा आन्तरिक तर्फ अनिता साँखु प्रथम, हरिश्चन्द्र शर्मा द्धितीय र कृष्ण बुढाथोकी तृतीय भएका थिए । खुला तर्फ गिता रुी प्रथम, महेन्द्र बस्नेत द्धितीय र इन्द्र भण्डारी तृतीय भएका थिए ।
यस्तै सरसफाइ तथा हरियाली प्रवर्द्धनमा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयको रुपमा खानेपानी, सरसफाइ तथा उर्जा विकास कार्यालय सल्यान पुरस्कृत भएको थियो । विजयी प्रतियोगीहरूलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, निजामती कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, नागरिक समाजका प्रतिनिधि लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । समारोहको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले गर्नुभएको थियो ।







सल्यान अनलाइन । २०८२ भाद्र २२ गते आइतवार