सल्यान छत्रेश्वरी–५ मा २९ लाख लागतमा ४८ घरधुरीमा ‘एक घर एक धारा’

छत्रेश्वरी गाउँपालिका–५ सिरुवालीमा २९ लाखभन्दा बढी लागतमा एक घर एक धारा खानेपानी तथा सरसफाई योजनाअन्तर्गत ४८ घरधुरीमा खानेपानीको धारा जडान गरिएको छ ।

तामाधारा खानेपानी तथा सरसफाई योजनामार्फत वर्षाैंदेखि खानेपानीको समस्य भोग्दै आइरहेको स्थानीयहले घरघरमै पानी आएपछि समस्याबाट छुटकारा पाएका छन् ।

बस्तीदेखि तीन किलोमिटर टाढा ढोरेनीको मुलबाट पानी ल्याइएर ४८ घरधुरीमा शुद्ध पानी वितरण गरिएको वडा नम्बर ५ का वडाध्यक्ष फौदबहादुर बस्नेतले जानकारी दिनुभयो । आँगनमै पानीको धारा झरेपछि सिरुवाली निवासी ७८ वर्षीया खिमी रावतले वर्षौको दुःख अब सकिएको बताउनुभयो । उहाले भन्नुभयो, ‘पानीकै लागि दिन रात भनिएन, छरछिमेकमा झगडा भएनकी तर, धेरै वर्षपछि घर घरमा खानेपानी आएपछि निकै खुसी लागेको छ ।’

६७ वर्षीय इश्वरीप्रसाद रावतले गाउँपालिकाबाट योजना परेपछि हरेक परिवारले २३–२३ दिन श्रमदान र ४५ सय उठाएर योजना सम्पन्न गरेको जानकारी दिनुभयो ।

उपभोक्ताहरूबाट श्रमदानबापत पाँच लाख ५२ हजार ५३४, नगद एक लाख ९२ हजार तथा गाउँपालिका र सुस्वा परियोजनाबाट २६ लाख ६० हजार ५४१ रुपैयाँ अनुदानबाट कुल २९ लाख ८ हजार ७५ रुपैयाँ लागतमा इनलाइन क्लोरिनेशन प्रणाली जडान गरिएको खानेपानी योजना सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । जसअनुसार ६४४ मिटर मेनलाइन र पाँच हजार २३५ मिटर शाखा लाइनमा पाइप विस्तार गरिएको छ ।



लेकखको सम्बन्धमा

तपाईको प्रतिक्रिया