सल्यानमा क्रियाशील विभिन्न पत्रकार संगठनहरूले नेपाल पत्रकार महासंघ प्रदेश परिषद सदस्य तथा कुमाख राष्ट्रिय दैनिक का सह–सम्पादक नोखिराम थापामाथि भएको आक्रमणप्रति संयुक्त रूपमा गम्भीर ध्यानाकर्षण जनाएका छन्।
भदौ २२ गते राति करिब ९ बजे शारदा नगरपालिका–१ श्रीनगरस्थित करुवा रेस्टुरेन्टमा खाना खाइरहेका थापामाथि शारदा नगरपालिका–६ का वडाध्यक्ष भिकराज बुढाथोकी र प्रमोद भण्डारीसहित ५–६ जनाको समूहले कुटपिट गरेको भन्दै विज्ञप्ति जारी गरिएको हो।
संयुक्त वक्तव्यमा भनिएको छ, “श्रीनगर बसपार्कसम्बन्धी समाचार प्रकाशन, प्रसारण गरेकै आधारमा गरिएको यस किसिमको हिंसात्मक आक्रमणले प्रेस स्वतन्त्रता, मानव अधिकार र लोकतान्त्रिक मूल्य–मान्यतालाई गम्भीर चोट पुर्याएको छ।” पत्रकारलाई तर्साउने, दबाब दिने वा समाचार लेखन रोक्ने उद्देश्यले गरिएको गतिविधि निन्दनीय मात्र नभई कानूनी अपराध समेत भएको विज्ञप्तिमा उल्लेख छ।
पत्रकार संगठनहरूले आक्रमणमा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न, पीडितलाई न्याय दिलाउन र पत्रकारहरूको सुरक्षामा आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्। साथै, यस्ता घटना पुनः नदोहोरिन सबै सरोकारवालालाई आह्वान गर्दै दोषीलाई कारबाही नगरे चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्।
संयुक्त विज्ञप्तिमा प्रेस युनियन सल्यानका अध्यक्ष लोकमान चन्द, प्रेस चौतारी नेपाल सल्यानका अध्यक्ष भूमप्रकाश भण्डारी, प्रेस सेन्टर नेपाल सल्यानकी अध्यक्ष सरिता चलाउने, समाजवादी प्रेस संगठन सल्यानका अध्यक्ष बुद्धिमान पुन र जनपत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य खकेन्द्र केसीको हस्ताक्षर छ।







सल्यान अनलाइन । २०८२ भाद्र २४ गते मङ्गलवार