शारदा नगरपालिका र नेपाल प्रहरीले संयुक्त रुपमा सडक मर्मत थाले

शारदा नगरपालिका, सल्यान र नेपाल प्रहरीले संयुक्त सहकार्यमा सडक मर्मत कार्य सुरु गरेको छ। लगातारको वर्षा कारण अवरुद्ध भएको शारदा नगरपालिका–१२ को रेशम जिउला हुँदै डाँग्री, स्यानीखाल जोड्ने ग्रामीण सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको हो।

वर्षायाममा पहिरो र पानीको कटानका कारण सडक आवतजावतमा असुविधा भएको थियो। स्थानीय तहले आगामी चाडपर्व नजिकिएकाले जनतालाई सहज आवागमन सुनिश्चित गर्न सडक मर्मतलाई प्राथमिकतामा राखेको जनाएको छ।

शारदा नगरपालिका–१२ का वडा अध्यक्ष सुरेन्द्र बुढाका अनुसार रेशम जिउला अटो भिलेज हुँदै शिव मावि मूलडाँडा–डाँग्रीसम्म पुग्ने मुख्य सडक खण्डमा मर्मत कार्य सम्पन्न गरिएको छ। उहाँले भन्नुभयो, “वर्षा लागेसँगै सडक अवरुद्ध हुँदा विद्यार्थी, बिरामी, व्यापारी तथा स्थानीय सर्वसाधारणलाई आवतजावतमा धेरै कठिनाइ भएको थियो। त्यसलाई मध्यनजर गर्दै तत्काल मर्मत कार्य सुरु गरिएको हो।”

सडक मर्मत कार्यमा नेपाल प्रहरीले समेत सक्रिय सहभागिता जनाएको छ। स्थानीयको माग र आवश्यकतालाई ध्यानमा राखी प्रहरी पनि विकास र रचनात्मक कार्यमा अग्रसर भएको सल्यानका प्रहरी प्रमुख डिएसपी डा। हेम बहादुर के।सीले बताउनुभयो। उहाँका अनुसार प्रहरीको भूमिकालाई केवल सुरक्षा सेवामा मात्र सीमित नराखी जनहितका काममा समेत सक्रिय तुल्याउन प्रयास गरिएको हो।

स्थानीयवासीले सडक मर्मतसँगै दैनिक जीवन सहज हुने विश्वास व्यक्त गरेका छन्। सडक सञ्चालनमा आएपछि विद्यालय जाने विद्यार्थी, बजार आउने–जाने सर्वसाधारण, रोगी बिरामी अस्पताल पुर्‍याउनुपर्ने अवस्था र कृषकले आफ्नो उत्पादन बजारसम्म पु¥याउन सहज हुने अपेक्षा गरिएको छ।

यसअघि वर्षा सुरु भएपछि सडक अबरुद्ध हुँदा धेरैले घण्टौँ पैदल यात्रा गर्नुपर्ने अवस्था आएको थियो। विशेष गरी चाडपर्वमा घर फर्कने, सामान ओसारपसार गर्ने र कृषिजन्य उत्पादन बेच्ने किसानलाई ठूलो असुविधा भएको थियो।

यसपालि भने स्थानीय तह र सुरक्षाकर्मीको सक्रियतामा सडक मर्मत कार्यलाई तीव्रता दिइएकाले आगामी चाडपर्वमा आवतजावत सहज हुने आशा गरिएको छ।



लेकखको सम्बन्धमा

तपाईको प्रतिक्रिया