दशैं–तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै सल्यानका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाडपर्वको समयमा यात्रुलाई पर्न सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा यात्रु सहायता कक्ष स्थापना गरेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक अशोक कुमार खड्काका अनुसार शारदा नगरपालिकाको श्रीनगर, वनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजार, कपुरकोट गाउँपालिकाको कपुरकोट र वागचौर नगरपालिकाको थारमारे बजारमा चाडबाड लक्षित सहायता कक्ष सञ्चालनमा ल्याइएको छ।
प्रमुख खड्काले जिल्लाभित्र चल्ने सवारी साधन र बाहिरबाट भित्रिने गाडीमा यात्रुलाई पर्ने समस्या समाधानका लागि सहायता कक्ष स्थापना गरिएको वताउनुभयो । उहाका अनुसार चाडपर्वमा यात्रुहरूले दोहोरो टिकट काटेर दुःख पाउने, मनपरी भाडा असुलिने, सामान हराउने, क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम बढ्ने जस्ता समस्या देखिने भएकाले यस्ता समस्या कम गर्न सहायता कक्षलाई सक्रिय बनाइएको छ।

सहायता कक्षमार्फत यात्रुलाई आवश्यक जानकारी दिने, टिकट पाउन सहयोग गर्ने, किराया अनुगमन गर्ने, आकस्मिक अवस्थामा सहयोग पु¥याउने व्यवस्था गरिएको छ। साथै यात्रुहरूको गुनासोको तत्काल सुनुवाइ गर्ने प्रणाली पनि तयार गरिएको छ। प्रहरीका अनुसार गुनासो जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सम्पर्क गरेर वा ड्युटीमा रहेका प्रहरीमार्फत उजुरी गर्न सकिनेछ।
यससँगै चाडपर्व अवधिमा अनधिकृत पार्किङलाई नियन्त्रण गर्न सितलपाटी बजारका चार स्थानमा नो पार्किङ बोर्ड राखिएको छ। अव्यवस्थित पार्किङका कारण सडकमा हुने जाम र दुर्घटनाको जोखिम कम गर्न यस वर्ष कडाइका साथ निगरानी गरिने ट्राफिक प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख खड्काले भन्नुभयो “सडक दुर्घटना रोकथाम, यात्रु सहजता र सुरक्षामा कुनै कमी नहोस् भन्ने हाम्रो प्राथमिकता हो। सहायता कक्ष र नो पार्किङ अभियानले यातायात व्यवस्था सहज बनाउन मद्दत गर्नेछ।”
यस्तै प्रहरीले राप्ती राजमार्गको दाङ सडक खण्ड, भेरी करिडोर सुर्खेत जाजरकोट सडक सहितका जिल्ला भित्रका ग्रामीण सडकमा नियमित चेकजाँच गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कारबाही गर्ने, क्षमताभन्दा बढी यात्रु चढाउन नदिने, चालकलाई गति नियन्त्रणमा चलाउन सचेत गराउनेलगायत कार्यक्रमसमेत सञ्चालनमा ल्याएको जनाएको छ।







सल्यान अनलाइन । २०८२ असोज ८ गते बुधवार