सल्यानका घनश्यामको नवप्रवर्तन :

परम्परागत पानीघट्टलाई विद्युतीय घट्टमा रूपान्तरण, वार्षिक २० लाखसम्म आम्दानी

परम्परागत पानीघट्टलाई परिस्कृत गर्दै विद्युतीय घट्ट निर्माण गर्ने काम सल्यानका एक युवाले सुरु गरेका छन्। यसै उद्यमबाट उनी वर्षमा १५ देखि २० लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन्।

३३ वर्षका घनश्याम केसीले बनगाड कुपिण्डे नगरपालिका–८, सल्लीबजारमा कालिका इन्जिनियरिङ उद्योग सञ्चालन गरी विद्युतीय घट्ट उत्पादन गर्दै आउनुभएको छ। त्रिवेणी गाउँपालिका–३ दाङचुली घर भएका केसीले स्थानीय बस्तीका बासिन्दा अन्न पिस्न टाढा खोलातिर जानुपर्ने बाध्यता देखेर विद्युतमार्फत चल्ने घट्ट विकास गरेको बताउनुभयो।

“पानी कम हुने ठाउँमा विद्युतीय घट्ट निकै प्रभावकारी हुन्छ,” उहाँले भन्नुभयो। सुरुमा आफ्नै घरमा परीक्षण गरी सफल भएपछि उद्योग दर्ता गरी उत्पादन सुरु गरिएको उहाँको भनाइ छ।

उद्योगले हाल वार्षिक करिब ४० वटा विद्युतीय घट्ट उत्पादन गर्छ। भारतीय उपकरण जडान भएको घट्टको मूल्य करिब ८० हजार रुपैयाँ पर्छ भने चाइना सामग्री प्रयोग भएको घट्टलाई करिब ७० हजार रुपैयाँमा ढुवानीसहित उपलब्ध गराइन्छ। अन्न पिस्नका लागि आवश्यक जाँतो भने जिल्लामै उत्पादन हुन्छ।

विद्युतीय घट्टले एक घण्टामा कोदो २० पाथी, गहुँ १५ पाथी र मकै १० पाथीसम्म पिस्न सकिने बताउँदै केसीले भन्नुभयो, “पानी घट्टभन्दा यो सजिलो छ, पानी पनि नचाहिने भएकाले प्रयोगकर्ताले सहज मानेका छन्।”

स्थानीय रामबहादुर यरीका अनुसार विद्युतीय घट्ट आएपछि टाढा जानुपर्ने, दुई–तीन दिन बास बस्नुपर्ने र धेरै श्रम खर्च गर्नुपर्ने बाध्यता हटेको छ।

घनश्यामकी श्रीमती शोभा केसीका अनुसार उद्योग विस्तारसँगै वार्षिक १५–२० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ। माग बढेसँगै बुटवल र सुर्खेतमा सम्पर्क कार्यालय स्थापना गरिएको छ भने काठमाडौँमा पनि हेर्नका लागि व्यवस्था मिलाइएको छ।

घनश्यामले परम्परागत पानीघट्टलाई आधुनिक प्रविधिसँग जोडेर स्थानीय स्तरमै रोजगारी र उद्यमशीलताको नयाँ सम्भावना देखाएका छन्।



लेकखको सम्बन्धमा

तपाईको प्रतिक्रिया