सल्यानका दुई पालिकाको सहकार्यमा विकासको नयाँ सुरुवात

सल्यानका दुई नगरपालिका शारदा र बनगाड कुपिण्डेबीच विकासका साझा सरोकारका विषयमा सहकार्य विस्तार गर्ने सहमति भएको छ। बनगाड कुपिण्डे नगरपालिका–९ जयतपानीमा सम्पन्न अन्तरपालिका समन्वय बैठकले दुवै स्थानीय तहले संयुक्त रूपमा अघि बढाउन सकिने प्रमुख क्षेत्रहरू पहिचान गर्दै सहकार्यका आधार तय गरेको हो।
बैठकले दुबै पालिकाको सीमा क्षेत्र जयतपानी नजिक ५०–५० प्रतिशत साझेदारीमा स्वागत गेट निर्माण गर्ने निर्णय गरेको छ। त्यस्तै, शारदा–९ नयाँबस्ती–धिरुवा हुँदै जयतपानी तथा शारदा–६ बरला–सापमारा हुँदै जयतपानी जोड्ने सडक निर्माणमा संयुक्त रूपमा काम गर्ने सहमति भएको छ।

बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख कर्णबहादुर बुढाथोकीले पहिलो अन्तरपालिका बैठकले संयुक्त विकास अभ्यासको सकारात्मक थालनी गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “साझा मुद्दामा हातेमालो गर्दै अघि बढ्दै समन्वयलाई निरन्तरता दिन्छौँ।”

शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले विकास सबैको साझा सरोकार भएकाले सहकार्यलाई विशेष प्राथमिकता दिइएको बताए। “सीमा क्षेत्रमा देखिएका समस्या समाधानदेखि पर्यटन प्रवद्र्धनसम्म, दुवै पालिकाले आगामी दिनमा मिलेर काम गर्नेछौँ,” उहाँले भन्नुभयो।

बैठकमा शारदा नगरपालिकाकी उपप्रमुख सुस्मिता सापकोटा, बनगाड कुपिण्डेका उपप्रमुख पुरुषोत्तम आचार्य, शारदाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा, बनगाडका प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी, शारदाका नगर प्रवक्ता राजेशकुमार शर्मा, बनगाड–९ का वडा अध्यक्ष रुद्रबहादुर परियार, वडा–६ का अध्यक्ष गणेशबहादुर बुढाथोकी लगायत दुवै पक्षका कर्मचारी तथा स्थानीयवासीहरूको सहभागिता थियो।
दुवै नगर प्रमुखले सहकार्यका निर्णयहरूले आपसी समन्वयलाई थप सुदृढ बनाउँदै समृद्धि र साझा विकास यात्रालाई गति दिने विश्वास व्यक्त गरेका छन्।



लेकखको सम्बन्धमा

तपाईको प्रतिक्रिया