सल्यानमा इभीको प्रयोग तीव्र, पहाडी बाटोमै सफल संचालन

सल्यान — जिल्लामा पछिल्लो केही वर्षयता विद्युतीय गाडी (इभी) को प्रयोग उल्लेखनीय रूपमा बढ्दै गएको छ । पहाडी भू–भाग र साँघुरा तथा उकाल–ओकाल सडकका कारण सुरुमा इभी सञ्चालन चुनौतीपूर्ण हुने अपेक्षा गरिएको भए पनि हाल यसको प्रयोग सफल र द्रुत गतिमा विस्तार भइरहेको छ।

जिल्ला ट्राफिक कार्यालय सल्यानका अनुसार हाल जिल्लामा ४० भन्दा बढी इभी नियमित रूपमा सञ्चालनमा छन्। ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक सरोज चौधरीका अनुसार, “हामीलाई प्राप्त विवरणअनुसार सल्यानमा हाल ४० वटा इभी चलिरहेका छन् । त्यस्तै बस तथा फोर्स गाडी ८७ वटा, जीप २६ वटा र ७०–७५ अटो सञ्चालनमा छन्,” उहाँले बताउनुभयो।

यातायात व्यवसायीका अनुसार इभीको माग र प्रयोग दुबै बढिरहेको छ। ग्रामीण तथा पहाडी क्षेत्रमा समेत इभीले सहज रूपमा सेवा दिन सकेको अनुभव व्यवसायीहरूले साझा गरेका छन्। सल्यान–रुकुम यातायात प्रालिमा मात्र हाल २० वटा इभी आबद्ध भई नियमित सञ्चालनमा छन्।

प्रालिका अध्यक्ष अरविन्दकुमार राईले इभी भित्रिएको डेढ वर्षभन्दा बढी समय भइसकेको बताउँदै सञ्चालनमा कुनै कठिनाई नभएको जानकारी दिनुभयो। “इन्धन खर्च अत्यन्तै कम हुन्छ। हाम्रो भौगोलिक अवस्थाका बाटोमा पनि इभीले राम्रो सेवा दिएको छ,” उहाँले भन्नुभयो, “अझै तुरुन्तै २०–२५ वटा इभी थप्ने तयारी गरिरहेका छौँ।”

राईका अनुसार चार्जिङ स्टेशन विस्तारका लागि विद्युत् आपूर्ति र भोल्टेज स्थिरतासम्बन्धी समस्या भने कायम रहेकोले यसतर्फ सम्बन्धित निकायको ध्यान आवश्यक छ।

इन्धन खर्चमा कटौती हुनु, यात्रा सस्तो र आरामदायी हुनु तथा प्रदूषणरहित भएकाले इभी व्यवसायी र यात्रु दुवैका लागि आकर्षणको केन्द्र बनेको छ। यात्रुहरू शान्त, सफा र सहज यात्राका लागि विद्युतीय गाडी रोज्न थालेका छन्।

जिल्लाका विभिन्न गाउँ–बस्ती र छोटा दूरीका मार्गमा पनि इभी सञ्चालनको दायरा विस्तार हुँदै गएको छ। व्यवसायीहरू इभीतर्फ आकर्षित भइरहेकाले नजिकै भविष्यमा सल्यानमा इभीको सङ्ख्या दोब्बर हुने अनुमान गरिएको छ।

नेपालमा महिन्द्रा इटुओ, बिवाइडी, किया निरो, एमजी जेटीएस, हुन्डाई कोना, आयोनिक, टाटा नेक्सन इभी, निसान लिफ लगायतका मोडेलहरूको बिक्री र वितरण तीव्र गतिमा बढ्दै गएको विवरणसमेत सार्वजनिक हुँदै आएका छन्।



लेकखको सम्बन्धमा

तपाईको प्रतिक्रिया