सल्यान – दुर्लभ तथा सङ्कटापन्न वनस्पतिको संरक्षण र औषधीय जडीबुटीको खेती प्रवर्द्धनलाई प्राथमिकता दिँदै वनस्पति अनुसन्धान केन्द्र, सल्यानले औषधीय गुण भएका वनस्पतिको उत्पादन तथा वितरण अभियानलाई थप विस्तार गरेको छ।
आर्थिक वर्ष २०८१/८२ मा केन्द्रले ५० हजार विभिन्न प्रजातिका औषधीय बिरुवा उत्पादन गरी ३५ हजार बिरुवा किसान तथा सामुदायिक वन समूहहरूलाई वितरण गरेको केन्द्रका प्रमुख डा. मित्र पाठकले जानकारी दिनुभयो। उहाँका अनुसार टिमुर, तेजपात, मलागिरी, कुरिलो, हर्रो, बर्रो, अमला, चिउरी, ओखर, काउलो र अश्वगन्धाजस्ता बहुमूल्य जडीबुटीको खेती विस्तारमा केन्द्रको विशेष ध्यान रहेको छ।
डा. पाठकका अनुसार जैविक विविधता संरक्षण, किसानको आर्थिक समृद्धि, स्वास्थ्य सुरक्षामा योगदान तथा परम्परागत ज्ञानको निरन्तरताका लागि जडीबुटी खेतीलाई प्राथमिकताका साथ अघि बढाइएको हो। “यस वर्षा याममा मात्र हामीले हजारौँ बिरुवा किसान र समुदायलाई वितरण गर्यौँ,” उहाँले भन्नुभयो, “कम लगानीमा दिगो आम्दानी दिने भएकाले किसानको रुचि पनि बढ्दो छ।”
बजेटका कारण उत्पादनमा केही कमी
विगतमा वार्षिक एक लाखभन्दा बढी बिरुवा उत्पादन गर्दै आएको केन्द्रले पछिल्ला वर्ष बजेटको सीमितताका कारण उत्पादनमा केही कमी आएको जनाएको छ। यद्यपि मागअनुसारका प्रमुख प्रजातिका बिरुवा उत्पादन तथा वितरणलाई निरन्तरता दिइएको छ।
किसानहरूले टिमुर र मलागिरीजस्ता प्रजाति व्यक्तिगत रूपमा रोप्ने गरेका छन् भने तेजपात र काउलो प्रायः सामुदायिक वन क्षेत्रमा रोप्ने गरिन्छ। सल्यानबाट बाहेक दाङ, रोल्पा, रुकुम, जाजरकोट, दैलेखलगायत जिल्लामा पनि यहाँबाट बिरुवा जाने गरेको छ।
एक दर्जन नर्सरीबाट उत्पादन
अहिले केन्द्रले कपुरकोट–३ मूलपानी वनस्पति उद्यानका तीन, कपुरकोट–३ जम्पानीका चार, त्रिवेणी–६ सल्लेखोला क्षेत्रमा एकसहित नर्सरी बाहिर पनि बिरुवा उत्पादन गर्दै आएको छ।
२५ वर्षदेखि जडीबुटी खेती प्रवर्द्धनमा सक्रिय केन्द्रका अनुसार पहिले जङ्गलबाट सङ्कलन गरिने टिमुरलगायतका जडीबुटी एक–दुई लाख रुपैयाँ मात्र बिक्री हुने गर्थे। तर अहिले सल्यानबाट मात्रै वार्षिक करोडौँ रुपैयाँ बराबरका जडीबुटी निकासी हुने सरकारी तथ्याङ्कले देखाउँछ।
आठ जिल्लामा कार्यक्रम सञ्चालन
केन्द्रको कार्यक्षेत्र तल्लो कर्णालीका पाँच जिल्ला, रोल्पा, दाङ र प्युठानसहित आठ जिल्लामा फैलिएको छ। यस क्षेत्रमा पालैपालो जडीबुटी खेती प्रवर्द्धन, विद्यालयस्तरीय सचेतना, विषालु च्याउसम्बन्धी जागरण, जैविक विषादी प्रयोग र वनस्पति खोजीका कार्यक्रम सञ्चालन हुने गरेका छन्।
दुर्लभ प्रजातिको संरक्षणमा विशेष ध्यान
काँकडसिङ्गी, सुनाखरीका विभिन्न प्रजाति, बन चाँप, टटेलो, सिप्लीकान, रुख उन्युजस्ता दुर्लभ तथा सङ्कटापन्न वनस्पतिको संरक्षणका लागि हालै विशेष प्रशिक्षणसमेत सम्पन्न गरिएको केन्द्रले जनाएको छ।
औषधीय गुणले भरिपूर्ण वनस्पतिहरूले स्थानीय समुदायलाई दिगो आम्दानी, स्वास्थ्य लाभ, माटो संरक्षण र जैविक विविधता जोगाउन मद्दत पुर्याइरहेका छन्। जंगली जडीबुटीमा मात्र निर्भर रहनुपर्ने अवस्था अन्त्य हुँदै खेतीमार्फत आत्मनिर्भरता बढ्न थालेको केन्द्रको भनाइ छ।







सल्यान अनलाइन । २०८२ मङ्सिर ६ गते शुक्रवार