मानवअधिकार रक्षकलाई आत्म–सुरक्षा र मानसिक सुदृढता: कर्णालीका ५ जिल्लाका युवाको सहभागिता

प्रदिप मगर

कर्णाली प्रदेशका पाँच जिल्लाका युवा मानवअधिकार रक्षकहरूलाई लक्षित गर्दै आत्म–रक्षा तथा मानसिक स्वास्थ्य सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ।तालिम मंसिर ६ र ७ गतेसम्म मानव अधिकार तथा सामाजिक न्याय अभियान–रोयम नेपालले जाजरकोट को खलंगा मा आयोजना गरेको थियो। कार्यक्रम युवा मानवअधिकार रक्षक सञ्जालको समन्वयमा तथा ए.इ.आइ.एन को सहयोगमा सञ्चालन गरिएको हो।

आयोजक रोयम नेपाल कर्णाली प्रदेशका संयोजक सन्तोष बि.क.का अनुसार मानवअधिकारको पक्षमा अभियान सञ्चालन गर्दा युवाहरूले तनाव, डर, मनोवैज्ञानिक दबाब र डिप्रेसनजस्ता समस्या भोग्नुपर्ने भएकाले तालिमले युवाहरूलाई आत्मरक्षा सीप, मानसिक सुदृढता र सुरक्षित रूपमा अभियान सञ्चालन गर्ने व्यवहारिक ज्ञान प्रदान गरेको बताए ।


जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख दलबहादुर सिंहले मानवअधिकारको काम चुनौतीपूर्ण भए पनि युवाहरूको अग्रसरता समाज परिवर्तनको बलियो आधार हुने बताए।
उनको भनाइमा, “यस्ता तालिमहरूले युवा रक्षकहरूलाई हिम्मत, स्पष्टता र सही दिशा दिन्छ।” उनले भने।

भेरी नगरपालिका–८ का वडा अध्यक्ष विरबहादुर चन्दले स्थानीय तह र युवाबीचको सहकार्यले मानसिक स्वास्थ्यका मुद्दा समाधानमा टेवा पुर्‍याउने बताए।
“युवामा मानसिक चुनौतीहरू बढ्दैछन्। सरकार र समुदाय दुवैले हातेमालो गर्दै समाधानतर्फ अघि बढ्नुपर्छ,” उनले भने।

कार्यक्रममा पूर्व वडा अध्यक्ष द्वय खुम्बजङ्ग शाह र गोपाल नेपाली, पत्रकार बालकुमार शर्मा, रेशम खड्का, बिनोद घर्ती मगर, रति नेपाली तथा इन्सेकका प्रतिनिधि बासुदेव शर्मालगायत सरोकारवालाहरूले आफ्ना धारणा राखे। तालिममा प्रशिक्षकहरूले आत्म–रक्षाका अभ्यासदेखि लिएर मानसिक स्वास्थ्यका आयामसम्मका सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरेका छन। तालिममा मानवअधिकारका मुद्दा लिएर फिल्डमा काम गर्दा आउने तनाव, धम्की, डर र जोखिम पहिचान तथा व्यवस्थापनबारे  प्रशिक्षण प्रदान गरिएको थियो।

जाजरकोट ,रुकम पचिम ,सुर्खेत ,डोल्पा र सल्यान गरि कर्णालीका पाँच जिल्लाबाट आएका २५ जना युवा मानवअधिकार रक्षकहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। सहभागीहरूले तालिमले आफ्नो भूमिकालाई अझ सुरक्षित, आत्मविश्वासी र प्रभावकारी बनाएको अनुभव सुनाएका छन्।


सहभागीहरुले मानवअधिकारका संवेदनशील मुद्दामा काम गर्दा आउने मानसिक दबाब र तनावलाइ कसरी व्यवस्थापन गर्ने र आफूलाई कसरी सुरक्षित राख्ने भन्ने व्यावहारिक सीप प्राप्त भएको बताए ।आयोजकले तालिमले युवा मानवअधिकार रक्षकहरूलाई मनोवैज्ञानिक चुनौतीहरूको व्यवस्थापन, आत्म–रक्षा, तथा सुरक्षित अभियान सञ्चालनमा दीर्घकालीन योगदान पुर्‍याउने अपेक्षा राखेको छ।



लेकखको सम्बन्धमा

तपाईको प्रतिक्रिया