सल्यानको ऐतिहासिक खलङ्गा–शीतलपाटी पदमार्ग पुनः निर्माण तथा संरक्षण गरिने भएको छ । शारदा नगरपालिकाले स्थानीयको सहभागिता र लगानीमा खलङ्गा–लुहापिङ–शितलपाटी पदमार्गलाई आधुनिक संरचनासहित पुनर्निर्माण गर्ने निर्णय गरेको हो ।
शनिबार श्रीनगरमा स्थानीय सरोकारवालासँग भएको छलफलमा पदमार्ग पुनः निर्माणको अवधारणा, सामुदायिक सहभागिता, लगानी मोडालिटी तथा दिगोपनाका विषयमा व्यापक परामर्श गरिएको नगरपालिकाले जनाएको छ । सदरमुकाम खलङ्गा र शीतलपाटीलाई जोड्ने यो पदमार्ग पहिला स्थानीय तथा बाहिरी यात्रुहरूको मुख्य आवतजावत मार्गका रूपमा प्रयोग हुँदै आएको थियो ।
स्थानीयको सक्रियता र सहयोगमा पुनर्निर्माण
सल्यान उद्योग वाणिज्य सङ्घ, श्रीनगरको सभाहलमा सम्पन्न छलफलमा नगर प्रमुख प्रकाश भण्डारी, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा, नगर प्रवक्ता राजेशकुमार शर्मा लगायत स्थानीय व्यक्तिहरू उपस्थित थिए । छलफलमा सहभागी नागरिकहरूले पदमार्ग पुनः निर्माणमा सक्रिय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नगर प्रवक्ता शर्माका अनुसार, “नागरिकहरू उत्साहित र सकारात्मक हुनुहुन्छ । प्राविधिक काम र संरक्षकत्व नगरपालिकाले गर्नेछ । निर्माण समितिमार्फत् स्थानीयहरूले कोषमा रकम सहयोग गर्ने वा प्रत्यक्ष श्रमदानमार्फत् काममा सहभागी हुन सक्ने व्यवस्था हुनेछ ।”
उहाँले थप्नुभयो कि लागत अनुमान (स्टिमेट) अनुसार निर्धारित मापदण्डभित्र रहेर स्थानीयले काम गर्नुपर्नेछ । पदमार्गको विभिन्न स्थानमा आवश्यक पर्ने खानेपानी धाराको व्यवस्थापनका लागि खलङ्गा–शितलपाटी खानेपानी उपभोक्ता संस्था जिम्मेवारी लिने प्रतिबद्धता जनाएको छ । यस्तै, पदमार्ग पुनः निर्माणपछि शौचालय र सौर्य बत्ती जडानको व्यवस्थापन नगरपालिकाले गर्नेछ ।
सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनमा टेवा
नगर प्रमुख भण्डारीले खलङ्गा–शितलपाटी पदमार्ग जिल्लाको पहिचान रहेको ऐतिहासिक मार्ग भएको उल्लेख गर्दै यसको पुनः निर्माणले स्थानीय अर्थतन्त्र, पर्यटन विकास र सांस्कृतिक सम्पदाको संरक्षणमा ठुलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
“खलङ्गा–शितलपाटी पदमार्ग समग्र सल्यानकै पहिचान हो । नागरिकको श्रम सहभागिता र सहकार्यका आधारमा यसलाई दिगो बनाउने हाम्रो उद्देश्य हो,” प्रमुख भण्डारीले भन्नुभयो ।
सडक सञ्जाल विस्तार हुनुभन्दा पहिले दैनिक आवतजावत तथा व्यापारका लागि अत्यन्तै महत्वपूर्ण मानिएको यो पदमार्गलाई व्यवस्थित ढंगले पुनः निर्माण गर्न लागिएको शारदा नगरपालिकाले जनाएको छ ।
यो पहलसँगै सल्यानको ऐतिहासिक पदमार्ग पुनःजीवन पाउने तथा जिल्लाको सांस्कृतिक–पर्यटन क्षेत्रलाई नयाँ ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ ।







सल्यान अनलाइन । २०८२ मङ्सिर १४ गते शनिवार