पछिल्लो केही वर्षयता सल्यानमा हृदयाघातका बिरामी उल्लेख्य रूपमा बढेका छन्। धूमपान, मदिरा सेवन, उच्च रक्तचाप, मधुमेह, तनाव तथा अनियमित जीवनशैलीजस्ता कारणले हृदयाघातका घटनामा वृद्धि भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।
जिल्ला अस्पताल सल्यानमा आर्थिक वर्ष २०८०/८१ मा ४ जना मात्र हृदयाघातका बिरामी आएका थिए। तर, २०८१/८२ मा यो संख्या बढेर १८ जना पुगेको छ। त्यस्तै चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामै ६ जनामा हृदयाघात देखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो।
उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ यतादेखि हालसम्म २८ जना हृदयाघातका बिरामी जिल्ला अस्पतालमा उपचारका लागि आएका छन्। तीमध्ये २० जना पुरुष र ८ जना महिला रहेका छन्।
प्राथमिक परीक्षण र सुविधा विस्तार
जिल्ला अस्पतालमा हृदयाघातका लक्षण लिएर आउने बिरामीको सबैभन्दा पहिले रगत परीक्षण र मुटुको इलेक्टोकार्डियोग्राम (ECG) गरिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख डा. अर्जुनकुमार बुढाका अनुसार गत वर्षदेखि अस्पतालमा मुटुको भिडियो एक्स–रे सेवा पनि सुरु गरिएको छ।
उहाँले भन्नुभयो, “यसले मुटुको कुन भागमा समस्या आएको हो भन्ने छुट्याउन मद्दत गर्छ। हृदयाघात कुन पार्ट बिग्रेर भएको हो भन्ने कुरा परीक्षणले पत्ता लगाउँछ।”
डा. बुढाका अनुसार मुटुमा तीनवटा मुख्य नसा हुन्छन्। तीमध्ये कुन नसामा समस्या देखिएको हो भन्ने कुरा पूर्ण रूपमा बुझ्न ‘एन्जियोग्राफी’ आवश्यक पर्ने र यो सुविधा हाल नेपालगञ्ज वा अन्य केन्द्रमै उपलब्ध रहेको बताउनुभयो।
“यहाँबाट रिफर गर्दा लामो यात्रा र आर्थिक समस्या हुने भएकाले हामीले तत्काल नै नसा खुलाउने औषधि दिन्छौँ,” डा. बुढाले भन्नुभयो, “यसले ज्यान जोगाउने जोखिम कम गर्छ।”
उच्च रक्तचाप, मधुमेह, जाँड–रक्सी, चुरोट सेवन, कोलेस्ट्रोल वृद्धि, व्यायामको कमी, तौल बढ्नु, परिवारमा यस प्रकारको इतिहास हुनु तथा अत्यधिक मानसिक तनाव हृदयाघातका प्रमुख जोखिम कारक रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्।
पछिल्लो वर्षहरूमा कम उमेर समूहमा पनि हृदयाघातका घटना देखिन थालेका भए पनि सल्यानमा भने ५० वर्षमाथिका व्यक्तिहरू उच्च जोखिममा रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।
डा. बुढाका अनुसार जिल्लामा हृदयाघातका लागि छुट्टै कार्यक्रम नआए पनि स्वास्थ्यकर्मीहरूको साप्ताहिक कक्षामार्फत निरन्तर प्रशिक्षण दिइँदै आएको छ।
उहाँले थप्नुभयो, “हामीले विभिन्न सञ्चार माध्यममार्फत कसरी स्वस्थ रहने र हृदयाघातबाट कसरी बच्ने भन्ने सन्देश निरन्तर दिइरहेका छौँ।”







सल्यान अनलाइन । २०८२ मङ्सिर १७ गते मङ्गलवार