सल्यान —शारदा नगरपालिका–५ तल्लोमार्केस्थित श्री जनकल्याण प्राथमिक विद्यालयको छात्रावासमा बस्दै आएका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ। छात्रावासमै आयोजना गरिएको कार्यक्रममा करिब ३५ थान न्यानो कपडा वितरण गरिएको विद्यालयले जनाएको छ।
शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीको पहलमा चितवनका समाजसेवी शेरबहादुर परियारले न्यानो कपडा सहयोग गरेका हुन्। छात्रावासमा बस्ने अधिकांश बालबालिका टुहुरा, विपन्न तथा जोखिममा परेका परिवारका भएकाले न्यानो कपडाले उनीहरूको दैनिकी सहज हुने विद्यालयले उल्लेख गरेको छ।
कार्यक्रममा नगरप्रमुख भण्डारीले असहाय र जोखिममा रहेका बालबालिकालाई गुणस्तरीय शिक्षामा पहुँच दिलाउन नगरपालिका निरन्तर सक्रिय रहेको बताउँदै आगामी दिनमा आवश्यक स्रोत परिचालन गरी छात्रावासलाई थप व्यवस्थित र नमुना बनाइने प्रतिबद्धता वताउनुभयो । उहाँका अनुसार शारदा नगरपालिकाको सफल मोडेलका कारण अन्य स्थानीय तहहरूले पनि आफ्ना असहाय बालबालिकालाई यही छात्रावासमा पठाउन रुचि जनाइरहेका छन्।
हाल छात्रावासमा ३१ जना बालबालिका बस्दै आएका छन्। उनीहरूका लागि खाना, आवास, लत्ताकपडादेखि कापी–कलम र नियमित पढाइसम्मका सबै सुविधा नगरपालिका, विद्यालय, स्थानीय समुदाय तथा सहयोगी दाताहरूको सहकार्यमा व्यवस्था गरिएको छ। विद्यालयका अनुसार बालबालिकाको सिकाइ, स्वास्थ्य र सुरक्षित वातावरणलाई प्राथमिकतामा राखिएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामबहादुर बुढाथोकीको अध्यक्षता र नगरप्रमुख भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष प्रदीप शाही, वडा सदस्य कुलबहादुर रेउले, महेन्द्र रत्न मावि पिपल्नेताका व्यवस्थापन समिति अध्यक्ष हरिराम शाही, पत्रकार तथा स्थानीय सरोकारवाला, शिक्षक, अभिभावक र विद्यार्थीको उपस्थिति थियो।
कार्यक्रमको सहजीकरण सहायक प्रअ कृष्ण बहादुर वलीले गर्नुभएको थियो ।







सल्यान अनलाइन । २०८२ मङ्सिर १७ गते मङ्गलवार