फारुलामा विपद् व्यवस्थापन अभिमुखीकरण तथा डेमो प्रदर्शन

सल्यान दार्मा गाउँपालिकाको आयोजनामा र नेपाली सेनाको श्री सिद्धिबक्स गण सिमखर्क, सल्यानको प्राविधिक सहजीकरणमा दार्मा गाउँपालिका–१ फारुलाचौरमा सामुदायिक विपद् प्रतिकार्य व्यवस्थापनसम्बन्धी अभिमुखीकरण तथा डेमो (प्रदर्शन) कार्यक्रम सम्पन्न गरिएको छ। विपद् जोखिम न्यूनीकरण तथा स्थानीय तहमा तत्काल उद्धार क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी तथा विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

 

 

कार्यक्रमका प्रशिक्षक तथा नेपाली सेनाका प्रतिनिधिहरूले सहभागीहरूलाई ‘विपद् के हो’, ‘विपद् कसरी उत्पन्न हुन्छ’, ‘विपद्ले कस–कसलाई कति प्रभावित गर्छ’ तथा ‘विपद् रोकथाम र न्यूनीकरणका उपाय’ लगायतका आधारभूत विषयमा विस्तृत अभिमुखीकरण प्रदान गरे। भूकम्प, बाढी–पहिरो, आगलागी, डुबान तथा चट्याङजस्ता स्थानीय समुदायले बारम्बार भोग्ने जोखिमबारे वैज्ञानिक तथा व्यवहारिक दृष्टिकोणसहित प्रशिक्षण दिइएको छ ।

अभिमुखीकरणपछि जनज्योति माध्यमिक विद्यालय, फारुलाको खेलमैदानमा विभिन्न विपद् परिदृश्यहरूको व्यावहारिक डेमो प्रदर्शन गरिएको थियो। सेनाको प्राविधिक टोलीले आगलागी नियन्त्रणका लागि प्रयोग गरिने फायर एक्स्टिङ्गुइशर, फायर बल तथा धुवाँ नियन्त्रण उपकरणको सही प्रयोग विधि प्रत्यक्षरूपमा देखायो। सहभागीहरूलाई प्रदर्शनमा सक्रिय सहभागिता र अवलोकन दुवै माध्यमबाट समावेश गराइएको थियो।

त्यस्तै, विपद् व्यवस्थापनमा आवश्यक ‘रोप रेस्क्यु’ (डोरी प्रयोग गरी उद्धार) विधिसम्बन्धी हार्नेस, क्याराबिनर, एन्कर, हेल्मेट तथा सेफ्टी लाइन जस्ता सामग्रीको प्रयोगबारे प्रत्यक्ष प्रशिक्षण दिइयो। ‘वाटर रेस्क्यु’ का लागि आवश्यक लाइफ ज्याकेट, लाइफ बुई, दोरी तथा फ्लोटिङ उपकरणको उपयोग तथा बाढी–डुबानको अवस्थालाई ध्यानमा राखी द्रुत प्रतिक्रिया प्रणालीबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

नेपाली सेनाको श्री सिद्धिबक्स गण सिमखर्क, सल्यानका मेजर महेश अधिकारीले समुदायमा विपद् प्रतिकार्य क्षमताको विकास तथा सचेतना अभिवृद्धिमा यस्तो कार्यक्रम अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमले स्थानीय बासिन्दामा विपद्को प्रारम्भिक चरणमै गर्न सकिने उद्धार कार्य, सुरक्षित स्थान पहिचान तथा जोखिम व्यवस्थापन सीप विकासमा महत्वपूर्ण योगदान पु¥याएको सहभागीहरूको भनाइ थियो।

श्री जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक मिनराज ओलीले विद्यालयस्तरमा गरिएको डेमो प्रदर्शनले विद्यार्थीहरूलाई व्यवहारिक सिकाइको अवसर प्रदान गरेको बताउनुभयो ।
दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले विद्यार्थी, शिक्षक, जनप्रतिनिधि तथा कर्मचारीलाई एउटै थलोमा समेटेर गरिएको अभिमुखीकरणले समन्वय र सामुदायिक सशक्तिकरणतर्फ ठूलो कदम अघि बढाएको बताउनुभयो ।उहाका अनुसार आगामी दिनमा यस्ता सचेतनामूलक कार्यक्रमहरू थप विद्यालय तथा समुदायमा सञ्चालन गरिनेछ।



लेकखको सम्बन्धमा

तपाईको प्रतिक्रिया