सल्यान त्रिवेणी गाउँपालिकाको १८औँ गाउँसभा सम्पन्न, तीन महत्वपूर्ण विधेयक पारित

सल्यान त्रिवेणी गाउँपालिका, सल्यानको १८औँ गाउँसभा सम्पन्न भएको छ। गाउँसभाले तीन वटा महत्वपूर्ण विधेयक पारित गरेको छ ।
गाउँसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक, २०८२, फोहोरमैला व्यवस्थापन सम्बन्धी विधेयक, २०८२ र कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धी विधेयक, २०८२ पारित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले जानकारी दिनुभयो। विधेयकहरू विधायन समितिका संयोजक दलबहादुर बस्नेतले सभासमक्ष पेश गर्नुभएको थियो। गाउँसभामा आर्थिक वर्ष २०८२÷८३ का लागि स्वीकृत बजेट तथा कार्यक्रमहरूमा केही संशोधनसमेत गरिएको छ।
सीमित स्रोतमा पनि लक्ष्यअनुसार काम अघि बढेको दाबी
गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले सीमित स्रोत–साधनका बाबजुद पनि गाउँपालिकाले निर्धारण गरेका लक्ष्यअनुसार विकास निर्माण, सेवा प्रवाह तथा सुशासनका काम अघि बढिरहेको बताउनुभयो। उहाँले त्रिवेणी गाउँपालिका आफ्नै पहिचानसहित विकासका गतिविधिमा सक्रिय रूपमा अघि बढिरहेको दाबी गर्नुभयो।
गाउँसभाका क्रममा सभा सदस्यहरूले नीति, विधेयक तथा कार्यविधिका विषयमा आ–आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए। उठाइएका जिज्ञासाहरूको स्पष्टिकरण अध्यक्ष रावतले गर्नुभएको थियो।

वित्तीय प्रगति १९.६३ प्रतिशत

गाउँसभामा प्रस्तुत विवरणअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म गाउँपालिकाको समग्र वित्तीय प्रगति १९.६३ प्रतिशत रहेको छ।
जसमध्ये चालु खर्चतर्फ २२.०५ प्रतिशत र पूँजीगत खर्चतर्फ १२.९४ प्रतिशत प्रगति भएको प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले जानकारी दिनुभयो।

शाखागत खर्च विवरणअनुसार शिक्षा शाखाले सबैभन्दा बढी २४.४५ प्रतिशत खर्च गरेको छ। पशुपंक्षी विकास शाखाले २२.७८ प्रतिशत, स्वास्थ्य शाखाले ७.६४ प्रतिशत, महिला विकास शाखाले ५ प्रतिशत खर्च गरेका छन्।
यस्तै, वडा नं. ४ ले ६.१४ प्रतिशत, वडा नं. ५ ले ४.४६ प्रतिशत, वडा नं. ६ ले २.५१ प्रतिशत र वडा नं. ३ ले ०.६७ प्रतिशत खर्च गरेका छन्। वडा नं. १, २ तथा कृषि शाखाको खर्च भने हालसम्म शून्य रहेको जनाइएको छ।

बेरुजु फछ्र्यौट र प्रगति प्रतिवेदन प्रस्तुत

लेखा समितिका संयोजक कुलबहादुर पुनले विगत दुई आर्थिक वर्षमा ९ करोड रुपैयाँ बराबरको बेरुजु फछ्र्यौट गरिएको जानकारी दिनुभयो। सम्परीक्षण हुन बाँकी बेरुजु फछ्र्यौटका प्रस्तावलाई गाउँसभाले नियमित गरी फछ्र्यौट गरेको छ।
यसैगरी, गाउँपालिकाको चालु आर्थिक वर्षको पहिलो चौमासिक प्रगति प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले सभासमक्ष प्रस्तुत गर्नुभएको थियो।

शिक्षा सुधार, सम्मान तथा कदर

वडा नं. ५ का वडा अध्यक्ष विमल रावतले सार्वजनिक शिक्षा सुधारका लागि विद्यालय अनुगमन लगायतका विषयमा सबै गाउँसभा सदस्यहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
गाउँपालिकाले विकास निर्माण, सेवा प्रवाह तथा सुशासनका विषयमा समाचार सम्प्रेषणमार्फत महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा, सल्यानलाई सम्मान गरेको छ। त्यसैगरी, लामो समयदेखि सेवा प्रदान गर्दै आएका विभिन्न शाखामा कार्यरत ११ जना कर्मचारीलाई सम्मान गरिएको छ। आगामी दिनमा पनि सेवा प्रवाह र कार्यसम्पादनको मूल्यांकनका आधारमा कर्मचारी सम्मान तथा पुरस्कार कार्यक्रमलाई निरन्तरता दिइने प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिनुभयो।
उत्कृष्ट कार्यको मूल्यांकन गर्दै सभा समापन


गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले त्रिवेणी गाउँपालिकाले विकास निर्माण, सेवा प्रवाह तथा सुशासनका क्षेत्रमा गरेको उत्कृष्ट कार्यको मूल्यांकन गर्दै स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा कर्णाली प्रदेश दोस्रो तथा जिल्लामा प्रथम, बेरुजु न्यूनिकरणमा कर्णाली प्रदेश प्रथम स्थान हासिल गर्न सफल भएको उल्लेख गर्नुभयो।
उहाँले उत्पादनमा आधारित अनुदान कार्यक्रम, विशेषज्ञसहितको स्वास्थ्य सेवा सञ्चालन लगायतका कार्यलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनमा थप उत्कृष्ट कार्य सम्पादन गर्न जनप्रतिनिधि र कर्मचारीहरूलाई सक्रिय रूपमा लाग्न आग्रह गर्दै गाउँसभाको समापन गर्नुभयो।



लेकखको सम्बन्धमा

तपाईको प्रतिक्रिया