सल्यान कालिमाटी गाउँपालिकाद्वारा ८० वर्ष माथिका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

सल्यानको कालिमाटी गाउँपालिकाले ८० वर्ष उमेर नाघेका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ। जेष्ठ नागरिकलाई सम्मान गर्नुका साथै जाडो मौसमबाट जोगाउन सहयोग पु¥याउने उद्देश्यले बुधबार एक कार्यक्रमको आयोजना गरी न्यानो कपडा वितरण गरिएको हो।

आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअन्तर्गत गाउँपालिकाको वडा नम्बर २ र ३ का ८० वर्ष माथिका ६८ जना जेष्ठ नागरिकलाई न्यानो कपडा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले जानकारी दिनुभयो।

अध्यक्ष केसीका अनुसार जेष्ठ नागरिकको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै गाउँपालिकाले हरेक वर्ष नियमित रूपमा न्यानो कपडा वितरण गर्दै आएको छ। उहाँले भन्नुभयो, “जेष्ठ नागरिकको अनुभव, सीप र योगदान समाजका लागि अमूल्य सम्पत्ति हुन्। उनीहरूलाई सम्मान गर्दै जीवन सहज बनाउन सहयोग गर्नु पालिकाको दायित्व हो, त्यसैले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ।”

गाउँपालिकाले ७ वटै वडामा छुट्टाछुट्टै कार्यक्रममार्फत कुल १ सय ९० जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने जनाएको छ। पहिलो चरणमा वडा नम्बर २ र ३ बाट वितरण सुरु गरिएको र बाँकी वडामा क्रमशः कार्यक्रम सञ्चालन गरिने अध्यक्ष केसीले बताउनुभयो।

सामाजिक न्याय र समावेशी विकासलाई प्राथमिकतामा राख्दै संविधानले सुनिश्चित गरेका जेष्ठ नागरिकका हक–अधिकारको कार्यान्वयनका लागि पूर्वाधारसँगै मानवीय विकासका कार्यक्रमलाई निरन्तरता दिइएको उहाँको भनाइ थियो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, गाउँपालिका कर्मचारी तथा जेष्ठ नागरिकका आफन्तजनको उल्लेखनीय उपस्थिति रहेको थियो। न्यानो कपडा प्राप्त गरेका जेष्ठ नागरिकहरूले आफूहरूप्रति गाउँपालिकाले देखाएको ध्यान र सम्मानप्रति खुसी व्यक्त गर्दै धन्यवाद दिएका छन्।



लेकखको सम्बन्धमा

तपाईको प्रतिक्रिया