किसानका लागि सुन्तलाजात फलफूल खेती प्रविधि सम्बन्धी तीनदिने तालिम संचालन

सल्यानमा सुन्तला खेतीलाई वैज्ञानिक, व्यवस्थित र उत्पादनमुखी बनाउने उद्देश्यसहित सुन्तला खेती गर्ने अगुवा किसानहरूका लागि तीनदिने सुन्तला खेती प्रविधि सम्बन्धी तालिम सञ्चालन गरिएको छ। राष्ट्रिय कृषि आधुनिककरण कार्यक्रम एकाइ सल्यानको आयोजनामा सञ्चालन गरिएको उक्त तालिममा जिल्लाका २० जना अगुवा सुन्तला किसानहरूको सहभागिता रहेको छ। तालिममा बागचौर नगरपालिका, सिद्धकुमाख गाउँपालिका, कुमाख गाउँपालिका तथा शारदा नगरपालिकाका सुन्तला खेतीमा सक्रिय र सम्भावना बोकेका किसानहरूलाई छनोट गरी सहभागी गराइएको हो ।

विशेषगरी सुन्तला जोन कार्यक्रम लागू भएका क्षेत्रका किसानहरूलाई प्राथमिकताका आधारमा तालिममा समेटिएको राष्ट्रिय कृषि आधुनिककरण कार्यक्रम एकाइ सल्यानका प्रमुख अनिल बानियाले जानकारी दिनुभयो। उहाँका अनुसार तालिमको मुख्य उद्देश्य किसानलाई परम्परागत खेती प्रणालीबाट वैज्ञानिक र प्रविधिमैत्री खेतीतर्फ आकर्षित गर्नु हो। तालिममार्फत सुन्तलाको उत्पादन वृद्धि, गुणस्तर सुधार र दीगो खेती प्रणाली विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तालिममा सुन्तला खेती प्रविधि, बगैँचा व्यवस्थापन, उत्पादन लागत घटाउने उपाय, क्षति न्यूनीकरणका तरिका, रोग तथा किराको पहिचान र नियन्त्रण, सुन्तलामा देखिने ‘ग्रिनिङ’ (Greening) रोगबाट ग्रसित बगैँचाको पुनर्स्थापना विधि, उचित मल–पानी व्यवस्थापन तथा काठछाँट (Pruning) सम्बन्धी विस्तृत प्राविधिक ज्ञान प्रदान उहाँले बताउनु भएको छ। तालिममा सहभागी किसानहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीपसमेत प्रदान गरिने प्रमुख बानियाले बताउनु भयो ।

तालिममा अनुभवी सुन्तला विज्ञ तथा कृषि प्राविधिकहरूले प्रशिक्षण दिइरहेका छन्। तालिममा सहभागी किसानहरूले यस्तो तालिमले आफ्नो खेती प्रणाली सुधार गर्न, उत्पादन बढाउन र व्यावसायिक सुन्तला खेतीतर्फ अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार रोग, किरा र उत्पादन घट्ने समस्या समाधानमा तालिम निकै उपयोगी हुने अपेक्षा गरिएको छ। राष्ट्रिय कृषि आधुनिककरण कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त तालिमले सल्यानमा सुन्तला खेतीको सम्भावना थप उजागर गर्दै किसानको आम्दानी वृद्धि र जिल्लालाई सुन्तला उत्पादनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ। तालिम तिन दिन सम्म चल्ने छ ।



लेकखको सम्बन्धमा

तपाईको प्रतिक्रिया