कोसेली घर निर्माणका लागि सल्यानमा दोस्रो प्रादेशिक कृषि तथा सांस्कृतिक महोत्सव

कोसेली घर निर्माणको लक्ष्यसहित सल्यानमा दोस्रो प्रादेशिक कृषि, वन, पशु, पर्यटन, उद्योग, व्यापार तथा सांस्कृतिक महोत्सव सुरु भएको छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा आयोजित महोत्सवको उद्घाटन कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले गर्नुभएको हो।

उद्योग वाणिज्य संघ सल्यानको आयोजनामा “कृषि, पशु, वन, उद्योग, व्यापार तथा पर्यटन विकासको परिकल्पनालाई व्यवसायीकरण गर्दै आर्थिक उन्नति र समृद्ध समाजको स्थापना” भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव आगामी माघ ११ गतेसम्म सञ्चालन हुनेछ।

उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख जोशीले कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासमा यस्ता महोत्सवहरूले नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थानीय उद्यमी, कृषक तथा युवाहरूलाई आर्थिक गतिविधि विस्तार गर्न र आत्मनिर्भर बन्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

कार्यक्रममा पूर्वमन्त्री तथा विघटित प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले सल्यानमा उत्पादन भएका वस्तुको प्रदर्शन तथा बिक्री–वितरणमा महोत्सवले उल्लेखनीय योगदान पु¥याउने धारणा राख्नुभयो। हरेक विषयलाई नकारात्मक रूपमा मात्र हेर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै उहाँले सकारात्मक र नकारात्मक दुवै पक्षलाई समग्र रूपमा मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो।

कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले निर्वाहमुखी कृषिलाई व्यवसायीक बनाउनु अपरिहार्य रहेकोमा जोड दिँदै सल्यान त्यस दिशामा अघि बढिरहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा प्रदेशसभा सदस्य भिमप्रकाश शर्मा, जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल, शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनार, नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

आयोजकका अनुसार महोत्सवबाट करिब ७७ लाख रुपैयाँसम्म कारोबार हुने अपेक्षा गरिएको छ भने साढे १२ लाख रुपैयाँ बचत गर्ने लक्ष्य लिइएको छ। कृषकहरूका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ। साथै उत्कृष्ट कृषक तथा उद्यमीलाई कृषि विकास कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयसँगको समन्वयमा सम्मान तथा पुरस्कृत गरिने जनाइएको छ।

एक सय तिस स्टलसहित माघ ११ गतेसम्म सञ्चालन
सल्यानको श्रीनगरस्थित टाउन प्लानिङ क्षेत्रमा सुरु भएको महोत्सव माघ ११ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा एक सय ३० वटा स्टल रहेका छन्।
“कृषि, पशु, वन, उद्योग, व्यापार तथा पर्यटन विकासको परिकल्पना व्यवसायीकरणद्वारा आर्थिक उन्नति गर्दै समृद्ध समाजको स्थापना” भन्ने मूल नारासहित महोत्सव आयोजना गरिएको हो।

महोत्सव संयोजक तथा उद्योग वाणिज्य संघ सल्यानका वरिष्ठ उपाध्यक्ष राजेन्द्रकुमार थापाका अनुसार महोत्सवबाट ७७ लाख रुपैयाँ बराबरको कारोबार हुने र साढे १२ लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको छ। १३० स्टलमध्ये १०० वटा व्यापारिक र ३० वटा कृषि, उद्यम तथा पर्यटनसम्बन्धी स्टल रहनेछन्।

 



लेकखको सम्बन्धमा

तपाईको प्रतिक्रिया