घर बिमा कार्यक्रम कार्यान्वयनमा आएपछि शारदा नगरपालिकाले पहिलो पटक क्षतिपूर्ति रकम हस्तान्तरण गरेको छ। कर्णाली प्रदेश सरकारले आह्वान गरेको घर बिमा कार्यक्रमअन्तर्गत शारदा नगरपालिकाले मात्र आवेदन पेस गरेपछि यो योजना नगरभित्र लागू भएको हो। हालसम्म नगरपालिकाका १० हजार घरधुरीमध्ये ४ हजार ७४७ घरधुरीको बिमा गरिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाका अनुसार प्राकृतिक विपत्तिबाट हुने क्षति र नोक्सानीको आर्थिक सुरक्षाको प्रत्याभूति दिलाउन यो कार्यक्रम ल्याइएको हो। घर बिमा कार्यविधि २०८१ अनुसार सुरु गरिएको यस योजनाअनुसार एक परिवारको एक घरको बिमा शुल्क प्रदेश सरकारले नै भुक्तानी गर्ने व्यवस्था गरिएको छ।
यसैक्रममा, नगरपालिकाले वडा नं. १० की सङ्गीता कवरलाई गत असारमा वर्षाका कारण क्षति पुगेको घरको लागि ९६ हजार ४२२ रुपैयाँ क्षतिपूर्ति रकम हस्तान्तरण गरेको हो।
क्षतिपूर्ति हस्तान्तरण कार्यक्रममा नगरप्रमुख प्रकाश भण्डारी, उपप्रमुख सुस्मिता सापकोटा, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा, वडा नं. १० का अध्यक्ष कृष्ण बहादुर खत्रीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा नगरप्रमुख भण्डारीले बिमा कार्यान्वयनका लागि सहयोग गर्ने प्रदेश सरकार, नेको इन्स्योरेन्स, जनप्रतिनिधि तथा कर्मचारीलाई धन्यवाद ज्ञापन गर्दै भने, “घर बिमा कार्यक्रमले नागरिकलाई राहत दिने मात्र होइन, दीर्घकालीन रूपमा विपत् व्यवस्थापनमा पनि मद्दत गर्नेछ।”
बिमा रकम पाएकी सङ्गीता कवरले बर्सातको पानीले घर भत्किँदा ठूलो समस्या हुने आशङ्का भए पनि बिमा रकमले मर्मत गर्न सहज भएको बताउँदै नगरपालिकाले निःशुल्क बिमा गरेर सहयोग गरेकोमा खुसी लागेको प्रतिक्रिया दिनुभयो।
शारदा नगरपालिकाले कर्णालीमै सबैभन्दा बढी ४ हजार ७४७ घरधुरीको बिमा गरेको छ। कार्यविधिअनुसार प्रत्येक घरलाई अधिकतम २० लाख बिमाङ्क बराबरको जोखिम मूल्याङ्कन हुने व्यवस्था छ। बिमा शुल्क प्रदेश सरकारले नै तिर्ने भएकाले घरधनीलाई अतिरिक्त आर्थिक बोझ पर्नेदेखि मुक्त गराइएको छ।
कार्यविधिमा उल्लेख भएअनुसार भूकम्प, आगलागी, बाढी, डुबान, हावाहुरी, जमिन धसिने वा भासिने, असिनापानी, हवाई दुर्घटनालगायत नौ प्रकारका विपत्तिबाट घरमा हुने क्षति वा क्षतिग्रस्त घरलाई बिमामार्फत क्षतिपूर्ति दिने प्रावधान गरिएको छ। तर काठ, पराल वा ढुङ्गामाटोले जोडेर बनाइएका घरमा भने यो योजना लागू नहुने जनाइएको छ।







सल्यान अनलाइन । २०८२ असोज ३ गते शुक्रवार