कर्णाली प्रदेशमा एक महिनाको अवधिमा दुई लाखभन्दा बढी विरुवा रोपिएको छ । असार १४ गतेदेखि साउन १५ गतेसम्म सञ्चालित सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत १२७.९२८ हेक्टर क्षेत्रफलमा २ दुईलाख ४,हजार ६८४ गोटा विभिन्न जातका विरुवा रोपिएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका योजना शाखा प्रमुख महेश नेपालीका अनुसार महाअभियानमा सल्यानमा ४८ हजार ३ सय , कालिकोटमा २७ हजार २ सय, डोल्पामा १ हजार ६१६, दैलेखमा १६ हजार १६०, हुम्लामा ५सय ७६, जाजरकोटमा २८ हजार ४३२, सुर्खेतमा ३६ हजार ३२०, जुम्लामा ३८ हजार ८०, रुकुम पश्चिममा ६ हजार ४सय र मुगुमा १ हजार ६ सय गोटा विरुवा रोपिएको छ ।
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले वृक्षारोपणभन्दा बढी आवश्यक विषय संरक्षण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक वर्ष वृक्षारोपण कार्य गरिन्छ, तर रोपिएका विरुवा संरक्षण गरेर हुर्काउनु अझै महत्वपूर्ण छ ।”
सल्यान खलंगा स्थित महाकवि लक्ष्मीप्रसाद देवकोटा पार्कमा वृक्षारोपण सहित आयोजीत अभियानको समापन कार्यक्रममा मन्त्री अधिकारीले समुदायको सक्रिय सहभागिता बिना वन क्षेत्रको दीगो संरक्षण सम्भव नहुने उल्लेख गर्दै भन्नुभयो, “राजनीतिक, आर्थिक र सामाजिक क्रान्ति सम्पन्न भइसकेका छन्, अब हामीलाई चाहिएको हो—हरित क्रान्ति ।” उहाँले सम्पूर्ण राजनीतिक दल, स्थानीय तह र नागरिक समाजलाई हरित क्रान्तिमा सहभागी हुन आग्रह गर्नुभयो ।
सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले वृक्षारोपनलाई आय आर्जनमा जोड्ने गरी सञ्चालन गरिनुपर्ने वताउनुभयो । उहाले भन्नुभयो वन क्षेत्रमा फैलिइएको मिचाह प्रजातीलाई कमी गरी उपयोगी जातका विरुवा रोप्नुपर्दछ ।
डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेकबहादुर रावलका अनुसार वृक्षारोपण महाअभियान सकिए पनि जिल्लामा वृक्षारोपण कार्यलाई निरन्तरता दिइनेछ । उहाँले सामुदायिक र राष्ट्रिय वन क्षेत्रलाई लक्ष्य गरी वृक्षारोपण कार्य अघि बढाइने जानकारी दिनुभयो ।







सल्यान अनलाइन । २०८२ साउन १६ गते बिहिवार