सल्यान बनगाड कुपिण्डे नगरपालिका ११ मा नव निर्मित विद्यालय भवन उद्घाटन

बनगाड कुपिण्डे नगरपालिका–११ खनियाखर्कमा रहेको भानुभक्त प्राथमिक विद्यालयको दुई कोठे नव निर्मित भवन कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले भव्य रुपमा उद्घाटन गर्नुभएको छ। प्रदेश सरकारले २९ लाख रुपैयाँ बजेटमा निर्माण गरेको यो भवनले विद्यालयका विद्यार्थीहरूको सिकाइ र अध्ययन वातावरणमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सुरेश अधिकारीले आफू सबैको प्रतिनिधि मात्र भएको स्पष्ट पार्दै भ्रष्टाचारविरुद्ध कडा सङ्कल्प व्यक्त गर्नुभयो। “म कुनै ठूलो मान्छे होइन, यहाँ तपाईँहरूको विश्वासका कारण मात्र आएको एक प्रतिनिधि हुँ,” उहाँले भन्नुभयो। “म भ्रष्टाचार गर्दिन, विकास र सुशासनमा कुनै सम्झौता नगर्ने प्रतिवद्धता लिएको छु। तपाईँहरूले मलाई प्रतिनिधि बनाएर पठाउनु भएको छ, त्यसैले म हरेक कदममा तपाईंहरूको आशा र विश्वासलाई पूरा गर्न प्रयासरत छु।”

मन्त्री अधिकारीले आफ्नो पहलमा मात्रै नभई कर्णाली प्रदेश सरकारले दिएको बजेटबाट विद्यालय भवन निर्माण भएको जानकारी दिंदै विकास कार्य कसैले व्यक्तिगत रूपमा गर्ने होइन, साझा पहल र समन्वयबाट मात्र सम्भव हुने बताउनुभयो। उहाँले बनगाड कुपिण्डे नगरपालिकामा कर्णाली प्रदेश सरकारको सबैभन्दा बढी बजेट विनियोजन भएको र त्यसको प्रभावकारी कार्यान्वयनमा सबै स्थानीय तहका सरोकारवालालाई सहकार्य गर्न आग्रह गर्नुभयो।

“कुपिण्डे दह र अन्य विकास सम्भावनायुक्त ठाउँहरूमा नजर लगाएर बजेट विनियोजन गरिएको छ। यसले यस क्षेत्रको समग्र विकासलाई थप गति दिनेछ,” मन्त्री अधिकारीले जोड दिनुभयो। उहाँले सल्यान जिल्लाका सबै ८३ वटा वडामा विकास बजेट पुगेको समेत जानकारी दिनुभयो र आफू जुनसुकै पार्टीबाट निर्वाचित भए पनि सबैको साझा व्यक्ति भएको भन्दै सबै पक्षसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा बनगाड कुपिण्डे नगरपालिका उप प्रमुख पुरुषोत्तम आचार्यले विद्यालय भवन भएपनि विद्यार्थीको उपस्थिति नबढ्नु चिन्ताजनक विषय भएको बताउँदै यसलाई सम्बोधन गर्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो। “विद्यालयका भवन बनेर मात्र हुँदैन, विद्यार्थीहरूलाई विद्यालय तर्फ आकर्षित गर्न शिक्षक र अभिभावक दुवैको भूमिका महत्त्वपूर्ण हुन्छ,” उहाँले भन्नुभयो। यसै क्रममा सामुदायिक वन दिवसको अवसर पारेर विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम पनि आयोजना गरिएको थियो, जसले वातावरण संरक्षणमा स्थानीय चेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झरण बस्यालको अध्यक्षतामा सञ्चालन भएको थियो भने संचालन दुर्गा बहादुर वलीले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय विद्यालय शिक्षक, अभिभावक, विद्यार्थी तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।

यस नव निर्मित भवनको उद्घाटनले क्षेत्रीय शिक्षामा नयाँ उर्जा थप्ने अपेक्षा गरिएको छ भने विद्यार्थीहरूको सिकाइ स्तरमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिएको छ।



लेकखको सम्बन्धमा

तपाईको प्रतिक्रिया