महालेखा परिक्षकको कार्यालय काठमाण्डौले सल्यान जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायसँग अन्तरक्रिया कार्यक्रम गरेको छ।
आर्थिक वर्ष २०८१÷०८२ समाप्ति पछि कार्यालयहरूको लेखा परिक्षण गर्न आएको महालेखा परिक्षकको टोलीले जिल्लामा रहेका सरकारी तथा स्थानीय तहका प्रशासकीय अधिकृत र लेखापालसँग अन्तरक्रिया कार्यक्रम गरेको हो।
सरकारी कार्यालय र स्थानीय तहको उक्त आर्थिक वर्ष २०८१÷०८२ को अन्तिम लेखा परिक्षणका लागि आएको टोलीले जिल्ला समन्वय समिति सल्यानको हलमा अन्तरक्रिया तथा लेखा परिक्षण गर्दा अपनाउनुपर्ने विधिहरूको विषयमा छलफल गरेको हो।
छलफलमा जिल्ला समन्वय समिति उपप्रमुख असरबिर वुढाथोकी र प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले लेखा परिक्षणमा आएको टोलीलाई सहयोग गर्न आग्रह गर्नुभएको छ। उहाँले लेखा परिक्षणमा जिल्लामा बेरुजु घटाउने गरी जिम्मेवारी बनेर सहयोग गर्न कार्यालय प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिनुभएको छ।
अन्तरक्रिया कार्यक्रममा महालेखा परिक्षक कार्यालयका निर्देशक टोपलाल पौडेलले महालेखा परिक्षकले अपनाएका विधिहरूलाई आत्मसात गर्दै काम गर्न सहयोग गर्न आग्रह गर्नुभएको छ। उहाँले लेखा परिक्षणका बेला आवश्यक कागजातसहित चुस्तदुरुस्त बनाउने गरी सहयोगको आधार, कारण र पुस्टयाईकोअपेक्षा व्यक्त गर्नुभएको छ।
यस्तै, महालेखा परिक्षकका निर्देशक रामबाबु पन्तले संघ, प्रदेश र स्थानीय तहको लेखा परिक्षकको अनुमति लिएर आएकाले जिल्लाका सरकारी तथा स्थानीय तहको लेखा परिक्षण गर्ने गरी दुई टोलीमा विभाजन गरिएको बताउनुभएको छ। उहाँका अनुसार लेखा परिक्षण गर्दा कार्यालय प्रमुख, लेखापाल र कार्यक्रम संचालन गर्ने व्यक्ति अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ।
अन्तरक्रिया तथा छलफल कार्यक्रममा जिल्लाका सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रशासकीय अधिकृत र लेखा अधिकृत, लेखापाल सहभागी थिए।







सल्यान अनलाइन । २०८२ भाद्र ३ गते मङ्गलवार