सल्यानमा पत्रकार कुटपिटः प्रेस संगठनहरूको निन्दा, कानूनी कारबाहीको माग

सल्यानमा क्रिशिल विभिन्न पत्रकार संगठनहरूले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको गम्भीर उल्लंघन हुनेगरी भएको पत्रकार कुटपिटप्रति ध्यानाकर्षण गराएका छन्।

कुमाख दैनिकका सहसम्पादक तथा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश परिषद सदस्य नोखिराम थापामाथि भदौ २२ गते बेलुका ९ बजे शारदा नगरपालिका १, श्रीनगरस्थित करुवा रेस्टुरेन्टमा खाना खाइरहेका बेला शारदा नगरपालिका–६ का अध्यक्ष भिकराज बुढाथोकी र प्रमोद भण्डारीसहित ५–६ जनाको समूहले आक्रमण गरेको भन्दै पत्रकार संघ संगठनले दोषीमाथी कार्वाहीको लागि माग गरेका छन् ।।

यस घटनाप्रति प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन र जनपत्रकार संगठन लगायत सल्यानका सम्पूर्ण पत्रकार संघ–संगठनले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनीहरूले घटनामा संलग्न दोषीविरुद्ध तत्काल कानूनी कारबाही गर्न, पीडित पत्रकारलाई न्याय दिलाउन र पत्रकारहरूको सुरक्षामा आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रेस युनियन अध्यक्ष लोकमान चन्द, प्रेसचौतारीका अध्यक्ष भुमप्रकाश भण्डारी, प्रेस सेन्टरका अध्यक्ष सरिता चलाउने, समाजवादी प्रेस संगठनका अध्यक्ष बुद्धिमान पुन र जनपत्रकार संगठनका केन्द्रिय सदस्य खकेन्द्र केसीले संयुक्त वक्तव्य जारी गर्दै, “यस प्रकारका हिंसात्मक घटनाले लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई गम्भीर चोट पुर्याउँछ। दोषीमाथि कारबाही नभए चरणवद्ध आन्दोलन गर्न बाध्य हुनेछौं,” भन्ने चेतावनी दिएका छन्।

पत्रकार संगठनहरूले यस घटनाप्रति सम्पूर्ण सरोकारवालालाई सचेत रहन र स्वतन्त्र, निष्पक्ष, निर्भीक पत्रकारितामा निरन्तर अडिग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।



लेकखको सम्बन्धमा

तपाईको प्रतिक्रिया