पत्रकार नोखिराम थापालाई कुटपिट, पत्रकार महासंघ सल्यानको आपत्ति,दोषीलाई कार्वाहीको दायरामा ल्याउन माग

सल्यानमा सञ्चालित कुमाख राष्ट्रिय दैनिक का सहसम्पादक तथा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश परिषदका सदस्य नोखिराम थापालाई आईतबार बेलुका श्रीनगरमा कुटपिट गरी घाइते बनाइएको छ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा, सल्यानका अध्यक्ष डिल्लीराज रावतले जारी गरेको प्रेस विज्ञप्ती अनुसार, थापा बेलुका रिपोर्टिङ गरेर फर्किँदै खाना खानको लागि श्रीनगरको होटल करुवामा पुगेका थिए। त्यहीबेला शारदा नगरपालिका–६ का वडाअध्यक्ष भिकराज बुढाथोकी र सोही ठाउँका स्थानीय प्रमोद भण्डारीसहितको ५–६ जनाको टोलीले उनमाथि एक्कासी कुटपिट गरेको थियो।

घाइते थापालाई प्रारम्भिक उपचारको लागि शारदा मेट्रो अस्पताल लगिएको थियो। प्रारम्भिक चिकित्सकीय जाँचमा टाउको, आँखा र कानमा बढी चोट लागेको पुष्टि भएको छ। थप उपचारका लागि उनलाई जिल्ला बाहिर लैजानुपर्ने अवस्था रहेको छ।

घाइते पत्रकार थापाका अनुसार, केही दिनअघि श्रीनगरमा निर्माण भएको बसपार्क उद्घाटन नहुदै समाचार प्रकाशन गरेको विषय नै यस कुटपिटको मुख्य कारण हो। अघिल्लो दिन शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले सार्वजनिक कार्यक्रममा “म मेयर हुँ, म आज सत्तामा छु, शक्तिमा छु, मेरो इसाराले धेरै कुरा चल्छ, मैले चाहे भने तपाईँहरुलाई दुख दिन सक्छु” जस्ता अभिव्यक्ति दिएका थिए। विज्ञप्तीले यस घटनालाई सुनियोजित हमला भएको पुष्टि गरेको छ।

नेपाल पत्रकार महासंघले प्रेस विज्ञप्तीमार्फत पत्रकारमाथि भएको शारीरिक आक्रमण र अभिव्यक्ति स्वतन्त्रताको उल्लंघनप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले कानुनी व्यवस्था अनुसार विवादको समाधान गर्न सकिने बताउँदै, पत्रकारमाथि कुटपिट गर्ने कार्यमा संलग्न सबैलाई तत्काल पक्राउ गरी आवश्यक कारवाही अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। साथै, प्रहरी प्रशासनले दोषीलाई पक्राउमा ढिलाइ गरेमा महासंघ चरणवद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ।

पत्रकार महासंघले स्पष्ट पारेको छ कि समाचारको विषयमा कसैलाई असहमति भए, कानुनी प्रक्रिया वा प्रेस काउन्सिलमा उजुरी गर्ने कानुनी व्यवस्था रहेको छ। तर, स्थापित संविधान, कानुन र मान्यतालाई बेवास्ता गरी पत्रकारमाथि शारीरिक हमला गर्नु पूर्णतया अस्वीकार्य छ।



लेकखको सम्बन्धमा

तपाईको प्रतिक्रिया