नेपाल पत्रकार महासंघ सल्यान शाखाको ३०औँ स्थापना दिवस बिहीबार विभिन्न कार्यक्रमसहित उत्साहपूर्वक मनाइएको छ। २०५२ मङ्सिर ४ गते वरिष्ठ पत्रकार हरिशरण आचार्यको अध्यक्षतामा तदर्थ समिति गठन भएको दिवसको सम्झनामा प्रत्येक वर्ष मनाइने यो दिन यस वर्ष पनि पेशागत गौरव, एकता र उत्तरदायित्वका भावना साथ मनाइएको हो।
दिवसका अवसरमा आयोजित कार्यक्रममा जिल्लामा सञ्चार क्षेत्रले तय गरेको यात्रादेखि भोगेका चुनौती, सिर्जना भएका अवसर र भविष्यमा पत्रकारितालाई अझ सक्षम र जिम्मेवार बनाउने मार्गबारे गम्भीर चर्चा गरिएको थियो।
कार्यक्रममा बोल्दै तदर्थ समितिका संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार हरिशरण आचार्यले ७९ वर्षको उमेरमा पनि आफू नागरिकमा सूचना प्रवाहको दायित्व निर्वाह गरिरहेको उल्लेख गर्दै पत्रकारिताको विगतका कठिन दिनहरूको स्मरण गर्नुभयो।
“पहिले अनुसन्धानात्मक समाचार निर्माण अत्यन्त चुनौतीपूर्ण थियो, आज प्रविधि र पहुँच सहज भए पनि तथ्यपरक र रूपान्तरणकारी सामग्रीमा कमी देखिनु चिन्ताको विषय हो,” उहाँले भन्नुभयो।
यस्तै, नेपाल पत्रकार महासंघ सल्यानका पूर्वअध्यक्ष रमेशकुमार गौतमले राज्यबाटै पत्रकार प्रताडित बन्नुपर्ने अवस्थाले पत्रकारिताको आत्मामै चुनौती थपिएको बताउनुभयो। उपकरण, पेन्सनलगायतका कार्यक्रम राजधानीमै सीमित हुँदा मोफसलका पत्रकारले अपेक्षित सुविधा नपाइरहेको उहाँको गुनासो थियो।
“स्रोतसाधन सीमित हुँदाहुँदै पनि पत्रकारहरू पेशागत आचरणसहित निरन्तर सक्रिय रहनु पत्रकारिताप्रतिको प्रतिबद्धताको उदाहरण हो,” गौतमले भन्नुभयो।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा सल्लाहकार प्रतीक इच्छुक शर्माले चुनौतीपूर्ण परिस्थितिमा स्थापना भएको सल्यान शाखाको यात्रा प्रेरक रहेको उल्लेख गर्दै अग्रज पत्रकारहरूको अनुशासन, संघर्ष र प्रतिबद्धता आजका पत्रकारका लागि महत्वपूर्ण सीख भएको बताउनुभयो।
त्यसैगरी पूर्वकार्यवाहक अध्यक्ष सनतकुमार शर्माले विगतका अनुभवलाई आधार बनाई समाचार उत्पादनलाई अझ सुदृढ बनाउनु पत्रकारको दायित्व रहेको औँल्याउनुभयो। “जनपक्षीय पत्रकारिता समाजलाई सही बाटोतर्फ डोर्छ, भुलावटबाट बचाउँछ,” उहाँले भन्नुभयो।
कार्यक्रम समापन गर्दै नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले स्थापना दिवसले संस्थाको विगत, वर्तमान र भविष्यलाई जोड्ने अवसर प्रदान गर्ने उल्लेख गर्दै सत्य, निष्पक्षता र मर्यादित पत्रकारिताको अभ्यास निरन्तर जारी राख्न आग्रह गर्नुभयो।
“विगतको तपस्या सम्झिँदा आजका चुनौतीहरू सामान्य लाग्छन्। सत्यतथ्यबाट कहिल्यै नडिग्री अघि बढ्न सकियो भने पत्रकारिता समाजको दिगो मार्गदर्शक बन्न सक्छ,” उहाँले भन्नुभयो।
शाखाका उपाध्यक्ष शिव डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासंघ सल्यानका सचिव बुद्धि पुनले गर्नुभएको थियो।







सल्यान अनलाइन । २०८२ मङ्सिर ६ गते शुक्रवार