कुमाख गाउँपालिका पूर्ण खोप पालिका घोषणा

कुमाख गाउँपालिकालाई पूर्ण खोप पालिका घोषणा तथा दिगोपना सुनिश्चितता भएको पालिका घोषणा भएको छ । पालिकाका १ हजार २ सय ३२ वालवालिकालाई खोपको पहुँचमा ल्याइएको हो । पालिकाका सातै वडामा ०–१५ महिनामुनिका ३१९ जना र १६–२३ महिनाका १हजार २सय ३२ जना बालबालिकालाई २७ खोप केन्द्रमार्फत पूर्ण खोप सेवा दिइएको स्वास्थ्य शाखा प्रमुख मानसिह वलीले पूर्ण खोप सुनिश्चितताको सबै सूचकहरू पालिकाले पुरा गरिसकेको जानकारी दिनुभयो।
कुमाख गाउँपालिका अध्यक्ष मानवहादुर वुढाथोकीले पूर्णखोपयुक्त पालिका वनाउन जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र समुदायको संयुक्त प्रयासबाट हासिल गरेको बताउँदै अब यसलाई दिगो बनाउने रणनीति अघि बढाइने स्पष्ट पार्नुभयो। उहाँले बाल मृत्युदर विगतमा निकै उच्च रहेकोमा खोपका कारण घट्दै गएको तथ्य प्रस्तुत गर्नुभयो।
आगामी वर्षदेखि स्वयंसेविकाहरू बिरामी परेमा पालिकाले यातायात सुविधा निःशुल्क उपलब्ध गराउने अध्यक्ष बुढाथोकीले प्रतिबद्धता जनाउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत दिलिप सोनिले खोपसँगै पालिकाले पूर्ण सरसफाइ अभियानलाई पनि प्राथमिकता दिइरहेको जानकारी दिनुभयो।उहाले भन्नुभयो स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्न विभिन्न कृयाकलाप सञ्चालन गरिएको छ ।

जनस्वास्थ्य अधिकृत तारा रिजालले नियमित खोप कार्यक्रमले संक्रामक रोग न्यूनीकरण, बाल मृत्युदरमा कमी र समग्र बाल स्वास्थ्यमा सुधार ल्याएको बताउनुभयो। उहाँका अनुसार यसपटक स्वास्थ्यकर्मी स्वयंले माघदेखि चैतसम्म घरदैलो सर्वेक्षण गरी छुटेका बालबालिकालाई बैशाखमा खोप दिइएको थियो।

प्रहरी प्रमुख धम्रेन्द्र खडकाले पालिकामा आत्महत्याका घटना बढी हुने गरेको र मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रममा पालिकाका सबै वडाका अध्यक्ष, पूर्ण खोप संयोजकहरू, स्वास्थ्य संस्था प्रमुख र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरिएको थियो।

पूर्ण खोप घोषणा भएसँगै सल्यानका सबै दशवटा पालिकामा यो उपलब्धि हासिल भइसकेको छ। जनस्वास्थ्य अधिकृत तारा प्रसाद रिजालका अनुसार सल्यान जिल्ला पनि यही असार महिना भित्र पूर्ण खोप घोषणा तथा दिगोपना सुनिश्चितता जिल्ला घोषित हुने छ।



लेकखको सम्बन्धमा

तपाईको प्रतिक्रिया