रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ८१ करोड ९४ लाख ८३ हजार बराबरको बजेट ल्याएको छ । २१औँ नगर आगामी वर्षको लागि उपप्रमुख उपप्रमुख ईश्वरी शर्माले उक्त बजेट सभा प्रस्तुत गर्नुभएको थियो । यो बजेट चालु आर्थिक वर्षको तुलनामा १० करोड ९३ लाख रुपैयाँले कम हो । नगरपालिकाले चालु आर्थिक वर्षका लागि ९२ करोड ८७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।
नगरपालिकाले कुल बजेटमध्ये चालूतर्फ ४२ करोड ८३ लाख १९ हजार ९७४।५९ प्रतिशत० र पूँजीगततर्फ १४ करोड ५८ लाख ९२५।४० प्रतिशत० विनियोजन गरिएको उपप्रमुख शर्माले बताउनुभयो । उहका अनुसार बजेटमा आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएका कार्यक्रम तथा आयोजना कार्यान्वयन गर्न नगरपालिकाको सञ्चित कोषतर्फ ५७ करोड ४१ लाख ९५ हजार २५ विनियोजन गरिएको छ ।
खर्च व्यहोर्ने स्रोतको रूपमा नगरपालिकाले संघीय सरकारले दिने सशर्त अनुदान चालुतर्फ २४ करोड १० लाख र पूँजीगततर्फ ३१ लाख रहेको छ । वित्तीय समानीकरण अनुदान तर्फ १० करोड २४ लाख प्राप्त हुने अनुमान गरेको छ ।
संघीय सरकारले दिने समपूरक अनुदान पूँजीगत तर्फ १ करोड १७ लाख र विशेष अनुदान चालुतर्फ ८४ लाख प्राप्त भएको छ । संघको राजस्व बाँडफाँटतर्फ ९ करोड ३५ लाख ६ हजार जार प्राप्त हुने अनुमान गरिएको छ ।
कर्णाली प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान १ करोड ३२ लाख २१ हजार र सशर्त अनुदान चालु तर्फ १४ लाख १९ हजार रहेको छ । सशर्त अनुदान पूँजीगत तर्फ प्रदेश सरकारबाट ३ करोड २० लाख, विशेष अनुदान चालु तर्फ ३० लाख र समपूरक अनुदान पूँजीगत तर्फ १ करोड ९७ लाखको स्रोत परिचालन हुने नगरपालिकाले जनाएको छ ।
आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वतर्फ २ करोड ५९ लाख २० हजार प्रक्षेपण गरिएको छ । स्थानीय सरकारको दहत्तरबहत्तर शुल्क वापत् ३० लाख र मालपोत रजिस्ट्रेसन शुल्क मार्फत ३९ लाख राजश्व सङ्कलन हुने अनुमान गरिएको छ । प्रदेश सवारी साधनबाट १९ लाख २८ हजार २३७ आय अनुमान गरिएको छ ।
‘समृद्ध चौरजहारी : जनउत्तरदायी सरकार’ को दीर्घकालीन सोच हासिलमा टेवा पुग्ने गरी बजेट केन्द्रित गरिएको उपप्रमुख शर्माले बताइन् । बजेटले गरिबी निवारण र आर्थिक सामाजिक रूपान्तरणसहितको समानुपातिक समावेशी विकास हासिल गर्ने दिशातर्फ कार्यक्रमहरू केन्द्रित गर्ने पालिकाले लक्ष लिएको छ ।
प्राथमिकतामा शिक्षा र स्वास्थ्य
चौरजहारी नगरपालिकाले बजेको ठूलो हिस्सा शिक्षा क्षेत्रमा विनियोजन गरेको छ । अन्य पालिकाहरूले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिई रहेका बेला चौरजहारीले भने आगामी आर्थिक वर्षको नीति र बजेट शिक्षा केन्द्रित गरेको छ ।
नगरपालिकाले शिक्षालाई सबल र गुणस्तरीय बनाउन २२ करोड ४८ लाख अर्थात् ३९.१५ प्रतिशत बजेट विनियोजन गरेको छ । ‘श्रमप्रति आस्थावान, दक्ष, सचेत र राष्ट्रप्रति वफादार नागरिक तयार गरी सभ्य समाजको निर्माण गर्न शिक्षा क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिइएको छ,’ पालिकाले भनेको छ ।
नगरभित्रका विद्यालयहरूमा शिक्षक विद्यार्थीको अनुपात मिलाउन नगर शिक्षक परिचालन गर्ने कार्यक्रम ल्याएको छ । यसका लागि ३ करोड २० लाख बजेट विनियोजन गरिएको उपप्रमुख शर्माले बताउनुभयो ।
संविधानको मर्मअनुरूप अनिवार्य र नि:शुल्क शिक्षाको प्रत्याभूति हुने गरी चौरजहारीले नि:शुल्क अभ्यास पुस्तिका र पोसाकको समेत व्यवस्था गर्दै आएको छ । प्रारम्भिक बाल शिक्षादेखि कक्षा ५ सम्मका बालबालिकाहरूका लागि पोसाक र विषयगत अभ्यास पुस्तिका प्रदान गर्न ४८ लाख छुटाएको छ ।
नगरपालिकाले नियमित छात्रवृत्तिका अतिरिक्त विद्यालयमा अध्ययनरत ४५० विद्यार्थीहरूलाई ३ हजारका दरले छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ । जसका लागी १३ लाख ५० हजार विनियोजन गरिएको छ । उपप्रमुख शर्माका अनुसार सामाजिक विकास क्षेत्रका लागि २८ करोड २२ लाख ९४ हजार विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षमा चौरजहारीले नगरभित्रका ४ सय बेरोजगारहरूलाई रोजगार प्रदान गर्ने लक्ष लिएको छ । त्रिपक्षीय रूपमा नगरपालिका, प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत सिँचाइ, खानेपानी, पैदल मार्ग लगायत पूर्वाधार निर्माणका साथै सीप विकास तालिम सञ्चालन गरिने बताइएको छ । त्यसका लागि २ करोड १० लाख बजेट विनियोजन गरिएको छ ।
नगरपालिकाले स्वास्थ्यलाई पनि प्राथमिकता राखेको छ । ‘प्रवर्धन गरौँ स्वास्थ्य सेवा, स्वस्थ जीवन र दीर्घायु टेवा’ भन्ने नारा अवलम्बन गरेको चौरजहारीले स्वास्थ्य सेवा प्रवर्धनका कार्यक्रम सञ्चालन गर्ने बताएको छ । त्यसका लागि स्वास्थ्यतर्फ कुल ५ करोड ५४ लाख ४ हजार अर्थात् कुल बजेटको ९ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
गरिब, विपन्न दलित, अल्पसङ्ख्यक, सहिद परिवार र युद्धका क्रममा घाइते भएकाहरूको नि:शुल्क स्वास्थ्य बिमा गर्न ४० लाख बजेट विनियोजन गरिएको छ । चौरजहारी अस्पतालसँगको समन्वयमा नर्सिङ कलेज समेत सञ्चालनमा ल्याउने बताइएको छ । त्यसका लागि ४ करोड विनियोजन गरिएको नगर उपप्रमुख शर्माले बताउनुभयो ।
बहु क्षेत्रीय पोषण कार्यक्रम सञ्चालन गर्न ४५ लाख, पोषणमैत्री स्थानीय शासन प्रवर्धन गर्न ३० लाख ४० हजार र स्वास्थ्य स्वयंसेवीकाहरूलाई प्रोत्साहन स्वरूप १० हजार प्रदान गरिने बजेटमा उल्लेख गरेको छ ।
नगरपालिकाले पूर्वाधार विकासका क्षेत्रमा कुल ७ करोड ८५ लाख ७ हजार विनियोजन गरिएको छ । उत्पादन योग्य जमिन भएको तर सिँचाइ सुविधाको अभाव रहेको क्षेत्रमा सिँचाइ पूर्वाधार निर्माण गर्ने बताइएको छ । सिँचाइ आयोजनका लागि मात्रै १ करोड ५५ लाख विनियोजन गरिएको छ ।
नगर कार्यपालिकाको कार्यालयलाई थप आकर्षक बनाउन १ करोड ८७ लाख, नगर सडकका लागि १ करोड ९८ लाख, अमलाटाकुरा ज्यूला सडक स्तरोन्नति गर्न १ करोड ९६ लाख विनियोजन गरिएको छ ।
संस्थागत विकास तथा सुशासनका क्षेत्रमा १५ करोड ६७ लाख ५ हजार बजेट विनियोजन गरिएको छ ।
अन्तरजातीय जोडीलाई १ लाख
चौरजहारी नगरपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनबापत १ लाख पुरस्कार दिने निर्णय गरेको छ । जातीय विभेद कम गर्न चालु आर्थिक वर्षबाट सुरु गरिएको यो कार्यक्रमलाई निरन्तरता दिइएको चौरजहारीका प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले बताउनुभयो ।
कार्यपालिकाको बैठकले उमेर पुगेका युवायुवतीले अन्तरजातीय विवाह गरे प्रोत्साहन स्वरूप पुरस्कार दिने घोषणा गरेको हो । जातीय विभेद अन्त्य गरी पिछडिएका दलित वर्गको हक अधिकार सुनिश्चित गर्न यस्तो नीति लिइएको नगर प्रमुख पुष्प बादीले बताउनुभयो ।
नेपालको संविधानको धारा २४ मा जातीय छुवाछुत तथा भेदभाव विरुद्धको हकको व्यवस्था छ । ‘छुवाछुत तथा भेदभावजन्य कार्यको अन्त्यका लागि अन्तरजातीय विवाह गर्ने जोडीहरूलाई प्रोत्साहन गर्न प्रति जोडी १ लाखका दरले आवश्यक बजेटको प्रबन्ध मिलाइएको छ’ पालिकाले भनेको छ ।
त्यस्तै ज्येष्ठ नागरिकको सम्मान र सेवाका लागि ज्येष्ठ नागरिक विश्राम गृह निर्माण गर्ने पालिकाले घोषण गरेको छ । त्यसका लागि १० लाख बजेट विनियोजन गरिएको छ ।
चौरजहारीले नीति र बजेटलाई शिक्षा, स्वास्थ्य र कृर्षीमा केन्द्रित गरेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो । पालिकाले आगामी आर्थिक वर्षबाट भोट बराबर बोट कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छ । सोही कार्यक्रम मार्फत १५ हजार बिरुवा रोप्ने बाइएको छ ।
५ युनिट भन्दा कम खानेपानी उपभोग गर्नेलाई नि:शुल्क खानेपानी प्रदान गर्ने, गरिब, दलित र विपन्न १२ सय ८४ घरपरिवारलाई नि:शुल्क स्वास्थ्य बिमा गर्ने, व्यावसायिक कृषकहरू, जोखिम क्षेत्रमा काम गर्ने ड्राइभर, नगर प्रहरी लगायतका कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरी जोखिम बहन र दिगो मर्यादित जीवन बनाउन योगदान गर्ने पालिकाले जनाएको छ ।
त्यस्तै नगर शिक्षा विकास कोष स्थापना गरी शिक्षामा लगानीका लागि सबैलाई जिम्मेवार बनाउने नीति लिइएको छ । त्यसका लागि जनप्रतिनिधि, शिक्षक, कर्मचारीहरूले वर्षमा कम्तीमा १ दिनको तलब कोषमा जम्मा गर्ने, जन्मदिन, विवाह लगायतका उत्सवमा शिक्षा विकासका लागि स्वैच्छिक रूपमा शिक्षा विकास कोषमा रकम जम्मा गर्न सक्ने, विभिन्न योजनाहरू कार्यान्वयन गर्दा ०.५ प्रतिशत रकम उक्त कोषमा जम्मा गर्ने लक्ष्य लिएको छ ।







सल्यान अनलाइन । २०८२ असार १३ गते शुक्रवार