सल्यानको प्रमुख नदी शारदा नदिमा माछा संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालनमा आएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष, वर्दियाको अगुवाइमा त्रिवेणी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका र कालिमाटी गाउँपालिकाभित्र पर्ने शारदा खोलाको वरपर माछा संरक्षण अभियान थालिएको हो।
यस कार्यका लागि ती पालिकामा रहेका सामुदायिक वनका २२ जना प्रतिनिधिहरूलाई तालिम दिइ माछा संरक्षणका लागि परिचालन गरिएको छ।
संरक्षणका क्रममा विस्फोटक पदार्थ, विद्युतीय उपकरण वा विषादी प्रयोग गरी माछा मार्न प्रतिबन्ध लगाइएको छ। वैधानिक जाल प्रयोग, समय र स्थानको ध्यान राखी माछा मार्ने सम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको छ।
शारदा नदीको २२ किलोमिटर क्षेत्रमा माछा संरक्षण क्षेत्रको रूपमा चिनिएको छ। संरक्षण क्षेत्रमा माछाको प्रजनन स्थल पहिचान गरी ’सहर माछा’ (ब्रूड फिस) राख्ने तयारी गरिएको छ।
कोषका प्राकृतिक स्रोत संरक्षण सहायक रविन के.सीका अनुसार, शारदा नदीमा विगत एक वर्षदेखि माछा संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन हुँदै आएको छ। उनका अनुसार नदीका सात स्थानमा माछाले वच्चा कोरल्ने ठाउँ (स्पोनिङ साइट) पहिचान गरिएको छ।
यस्तै, छत्रेश्वरी गाउँपालिका–शंखमुलस्थित म्यागो रेस्टुरेन्ट नामक होमस्टे प्रबर्धनमा पनि कार्यक्रमको सहयोग पुगेको छ।
शारदा र बबई नदीमा गरिएको पछिल्लो अध्ययनमा १७ प्रजातिका माछा पाइएका छन्। ती माछाको वैज्ञानिक नाम र विश्लेषण सार्वजनिक गरिने के.सीले जानकारी दिनुभयो।
संरक्षण कार्यक्रम सञ्चालन भएका पालिकाहरूले शारदा खोलामा ढुङ्गा, गिट्टी र वालुवा निकाल्दा पानीको प्राकृतिक वहावमा असर नपर्ने गरी मात्र निकासी गर्ने नीति लिएका छन्।
त्रिवेणी गाउँपालिकाका प्रशासकीय अधिकृत खुमबहादुर के.सीका अनुसार, शारदा नदि र आसपासका खोलाको वातावरणीय अध्ययन गरी मात्र प्राकृतिक स्रोतको उपयोग गरिने नीति अपनाइएको वताउनुभयो । उहाका अनुसार जलचर प्राणी संरक्षणलाई ख्याल गरेर प्राकृतिक स्रोतको उपयोग गर्ने गरिएको छ ।







सल्यान अनलाइन । २०८२ साउन २३ गते बिहिवार