शारदा नगरपालिका, सल्यानले फोहोर (मैला) व्यवस्थापनसम्बन्धी दीर्घकालीन योजना निर्माणका लागि प्रारम्भिक वातावरणीय मूल्याङ्कन (आइ ई ई) प्रतिवेदन तयार गर्ने प्रक्रियाअन्तर्गत सरोकारवाला र स्थानीय समुदायसँग छलफल सुरु गरेको छ। एभरेस्ट इञ्जिनियरिङ कन्सल्टेन्सीको प्राविधिक सहयोगमा तयार हुने उक्त प्रतिवेदनको पूर्वतयारीस्वरूप वातावरणीय, सामाजिक र आर्थिक पक्षहरूको प्रारम्भिक अध्ययन थालिएको हो।
छलफल शारदा नगरपालिका–३ स्थित टिमुरे टोल फोहोरमैला व्यवस्थापन केन्द्र वरपरका बासिन्दासँग गरिएको थियो। एभरेस्ट इञ्जिनियरिङ कन्सल्टेन्सीका ईन्जिनियर यज्ञ खत्रीले स्थानको वर्तमान अवस्था चुनौतीपूर्ण भए पनि, प्रारम्भिक अध्ययनका आधारमा वैज्ञानिक तरिकाले व्यवस्थापन सम्भव हुने बताउनुभयो ।
शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले फोहोरमैला व्यवस्थापन केन्द्रमा ल्याइने फोहोरलाई रिसाइक्लिङ, प्रशोधन तथा मूल्यमा परिवर्तन गर्न सक्ने सम्भावनाको खोजी भइरहेको जानकारी दिनुभयो। उहाले भन्नुभयो “हामी कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्न चाहन्छौं, जसबाट वातावरणीय सन्तुलनसँगै रोजगारी पनि सिर्जना होस्,” ।
शारदा नगरपालिकाले १५ वटै वडामा सरोकारवाला छलफल गर्ने योजना बनाएको छ, जसमा १, २, ३, ४, ६ र १२ नम्बर वडाहरू प्राथमिकतामा रहेका छन्।
कार्यक्रममा वडा नं. ३ का अध्यक्ष तुलसा भण्डारीले समुदायको सहभागिता सुनिश्चित गर्दै वातावरणमैत्री फोहोर व्यवस्थापन योजनामा सहयोग गरिनुपर्ने मा जोड दिनुभयो । उहाले भन्नुभयो “समुदायको आवाज र सल्लाहलाई प्राथमिकता दिई फोहोरमैला ब्यवस्थापन गरिँदैछ,” ।
कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष मित्रलाल बिष्टले हाल फोहोर व्यवस्थापन भइरहेको स्थान उपयुक्त नरहेको जनाउँदै थप कार्य नगर्न आग्रह गर्नुभयो।
“यो स्थान दीर्घकालीन रूपमा वातावरणीय जोखिममा रहेको छ,” उहाँले भन्नुभयो, “स्थानीय स्वास्थ्य, वातावरण र जनजीवनमा असर पर्ने भएकाले यहाँ फोहोर व्यवस्थापन नगरियोस् भन्ने हाम्रो माग हो।”
यो प्रक्रिया प्रारम्भिक वातावरणीय मूल्याङ्कन (आई ई ई), सामाजिक असरको मूल्याङ्कन, र स्थानीय धारणा संकलनमा आधारित रहेर फोहोरमैला व्यवस्थापन केन्द्रको दीर्घकालीन योजना निर्माण गर्ने उद्देश्यले अघि बढाइएको हो।







सल्यान अनलाइन । २०८२ जेष्ठ १५ गते बुधवार