स्थानीय सरकार जनताको चुलोको सरकार हो — पूर्वमन्त्री शर्मा

कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भिमप्रकाश शर्माले स्थानीय सरकारलाई जनताको चुलोको सरकारको संज्ञा दिंदै जनताको सबैभन्दा नजिकको सरकार भएकाले माग, अपेक्षा र आलोचना पनि त्यही सरकारप्रति बढी हुने बताउनुभएको छ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको १७औं नगरअधिवेशन उद्घाटन गर्दै शर्माले सिमित स्रोतसाधनका बाबजुद नगरपालिकाले गरेको विकास कार्य उल्लेखनीय रहेको र यसले जनविश्वास बढाएको बताउनुभयो।

उहाँले भन्नुभयो, ूस्थानीय सरकारले लिएका साना कार्यक्रमले जनताको आवश्यकताको सम्बोधन मात्र होइन, जनताको विश्वाससमेत जित्ने गरेका छन्। सरकार जनमुखी हुन सके जनताको व्यवस्थाप्रति धारणा बलियो हुन्छ।

शर्माले प्रदेश सरकारको तर्फबाट बनगाड क्षेत्रमा खानेपानी, सडकजस्ता पूर्वाधारका महत्वपूर्ण योजना ल्याइएको र आगामी दिनमा तिनलाई निरन्तरता दिइने स्पष्ट पार्नुभयो। स्थानीय सरकार स्थिर हुने भएकाले नीति र कार्यक्रमअनुसार बजेट ल्याई कार्यान्वयनमा सहजता हुने समेत उहाँको भनाइ थियो।

उहाँले थप भन्नुभयो, ूस्थानीय तहको सरकार संघ वा प्रदेशभन्दा बलियो हुन्छ, किनभने यसले पाँच वर्षको पूरा कार्यकाल पाउँछ। यही स्थायित्वले साना योजना भए पनि परिणाम दिन्छ।ू

कर्णाली प्रदेशमै बेरुजु शून्य बनाउने पहिलो पालिका बनगाड कुपिण्डे भएको उल्लेख गर्दै शर्माले यसलाई सुशासनको उदाहरणका रूपमा लिनुपर्ने र निरन्तरता दिनुपर्ने बताए।

नीति, कार्यक्रम र बजेटबीच तालमेल नहुँदा बेरुजु आउने गरेको भन्दै उहाँले अबदेखि बजेट बनाउँदा नीति अनुरूपको समन्वय गर्नुपर्ने धारणा राख्नुभयो।

पूर्वमन्त्री समेत रहेका शर्माले कर्णाली प्रदेश सरकारको योजना बैंक निर्माणपछिको कार्यान्वयन कमजोर भएको उल्लेख गर्दै, ूयोजना कार्यान्वयन नगर्दा प्रदेश सरकारले जनविश्वास गुमाउँदैछ। जिल्ला जिल्लाबाट आएका योजनालाई बजेटमा समावेश नगरी सत्ता पक्षले चोरबाटोबाट आफ्ना योजना अघि बढाएको छ,ू भन्दै आलोचना गर्नुभयो।

उहाँले योजना बैंकका लागि जिल्ला जिल्लामा सन्दर्भगत छलफल गरेर सुझाव संकलन गरिएको भए पनि ती योजना बजेटमा परेनन् भने त्यस प्रक्रियाको औचित्यमाथि प्रश्न उठाउनु भयो।



लेकखको सम्बन्धमा

तपाईको प्रतिक्रिया