सल्यान शारदा नगरपालिका–१२, कागखोलामा अवस्थित ऐतिहासिक र पौराणिक ’डाँडापोखरी’लाई संरक्षण गर्दै नयाँ पोखरी निर्माण गरिएको छ। करिब १ लाख ५० हजार रुपैयाँको लागतमा सम्पन्न भएको यो पोखरी पौराणिक ताल, तलैया, पार्टी पौवा जस्ता संरचनाको संरक्षण र सदुपयोगका लागि महत्वपूर्ण प्रयास मानिएको छ।
डाँडाको सबैभन्दा अग्लो स्थानमा रहेको यो पोखरी पुर्खाले बनाएको मानिन्छ। पुख्र्यौली नाम नै ’डाँडापोखरी’ रहेको यस स्थानमा विगतमा पानीको चरम अभाव हुने गरेको थियो। हाल पोखरीमा वर्षाको पानी संकलन हुन थालेपछि गाईबस्तुहरूलाई पानी खुवाउन सहज भएको छ।
स्थानीय बासिन्दा काली बहादुर बुढाथोकीले पोखरी निर्माणले गाउँलेहरूलाई ठूलो राहत मिलेको बताउनुभयो। उहाँले भन्नुभयो यो ठाउँ हाम्रो पुर्खाको चिनो हो। पहिले पानी नभएर पशुचौपायालाई चराउन ल्याउँदा धेरै गाह्रो पथ्र्यो। अहिले पोखरी बनेपछि गाईबस्तुहरूलाई पानी खुवाउन सजिलो भएको छ। यस्तो संरचना संरक्षण हुनु भनेको हाम्रो पहिचान जगेर्ना गर्नु हो।

शारदा नगरपालिका–१२ का वडा अध्यक्ष सुरेन्द्र बुढाले पोखरी निर्माणले परम्परागत संरचनाको संरक्षण त भएको छ नै, साथै यसले गाईबस्तु र वन्यजन्तुलाई समेत पानीको अभावबाट राहत दिएको वताउनुभयो । उहाले भन्नुभयो पोखरी निर्माणले यस क्षेत्रको ऐतिहाँसिकका झल्काएको छ ।
स्थानीय समुदायले डाँडापोखरी जस्ता पौराणिक थलोहरूको संरक्षणलाई सकारात्मक अभ्यासका रूपमा लिएको छ। उनीहरूले यस्ता संरचनाहरूलाई विस्तार गर्दै अन्य ठाउँमा पनि संरक्षण र सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्।







सल्यान अनलाइन । २०८२ साउन ८ गते बुधवार