सल्यान, शारदा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख प्रकाश भण्डारीले बुधबार सम्पन्न नगरसभाको १७औं अधिवेशनमा समृद्ध र आत्मनिर्भर शारदा निर्माणको उद्देश्यसहित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।
यस वर्षको नीति कार्यक्रममा कृषि, पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्यम प्रवर्द्धन लगायत विविध क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। नगरपालिकाले कृषि तथा पशुपालनलाई व्यवसायिक बनाउन लक्षित गरी कृषि विकास रणनीतिक योजना ९२०८१/२०८५० अनुसार उन्नत बीउ वितरण, कृषक तालिम, माटो परीक्षण प्रयोगशाला स्थापना, मल आपूर्ति, र उच्च मूल्यका बाली प्रवर्द्धन गरिने जनाएको छ।
पोषण सुरक्षामा विद्यालय र घर वरिपरि तरकारी बगैंचा सञ्चालन, सुनौला हजार दिनका परिवारमा पोषण वृद्धिका कार्यक्रम, कृषक घरदैलो सेवा तथा घुम्ती तालिमका कार्यक्रमहरू समावेश छन्।
पशुपालनमा खसी, बोका, लोकल कुखुरा, कालिज, लौकाट, टर्की, मौरीपालन, कृत्रिम गर्भाधान, दाना उत्पादन, र रेबिज नियन्त्रण कार्यक्रम निरन्तरता दिइने छ। साथै, इलभ ज्भबतिज कार्यक्रम, सामुदायिक कुकुरको बन्ध्याकरण र पशु सेवा केन्द्र विस्तार गरिने योजना रहेको छ।
बेरोजगार युवा, महिला र विपन्न वर्गका लागि सीप विकास तालिम, स्वरोजगार प्रोत्साहन तथा लघु उद्यम प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछ। मेयर उत्कृष्ट कृषक पुरस्कार स्थापना गरी उद्यमशीलता र रोजगार सिर्जनामा जोड दिइने छ।

पर्यटन क्षेत्रको विकासका लागि खैरावाङ मन्दिर क्षेत्रलाई पूर्णता दिने, बुद्ध पार्क संरक्षण, पार्क निर्माण, होमस्टे प्रवर्द्धन तथा पर्यटन सूचना केन्द्र स्थापना गर्ने योजना अघि सारिएको छ।
स्वास्थ्य क्षेत्रमा ‘हाम्रो स्वास्थ्य, राम्रो स्वास्थ्य’ नारासहित विशेषज्ञ स्वास्थ्य शिविर, आपतकालीन सेवा सुदृढीकरण, पोषणयुक्त आहार वितरण, विद्यालय स्वास्थ्य कार्यक्रम, स्तनपान कक्ष स्थापना, किशोर प्रजनन स्वास्थ्य र मानसिक स्वास्थ्य सेवा विस्तार गरिने छ।
शिक्षा क्षेत्रमा १० वर्षे शिक्षा योजना कार्यान्वयन, बालमैत्री वातावरण सिर्जना, शिक्षक तालिम, उत्कृष्ट विद्यालय तथा शिक्षक सम्मान, छात्रावास व्यवस्थापन, डिजिटल प्रविधिको प्रयोग र अभिभावक शिक्षामा विशेष जोड दिइने छ।
खेलकुद क्षेत्रमा जिल्लास्तरीय प्रतियोगिता, प्रशिक्षक व्यवस्थापन र मेयर कप क्रिकेट प्रतियोगिता निरन्तरता दिइनेछ। खानेपानी र सरसफाइमा निजी धारा जडान, ठूला योजना सञ्चालन, फोहोरमैला व्यवस्थापन र स्वच्छता प्रवर्द्धन गरिने छ।
पूर्वाधार क्षेत्रमा सडक मर्मत, बत्ती विस्तार, बसपार्क व्यवस्थापन, सडक गुरुयोजना अद्यावधिक, नमूना विद्यालय सञ्चालन र संरचनागत सुधारमा ध्यान दिइने जनाइएको छ।
वन, वातावरण र विपद् व्यवस्थापनमा जलवायु परिवर्तनमैत्री कार्यक्रम, वृक्षारोपण, फोहोर व्यवस्थापन सुधार र विपद् कोष स्थापना गरिने योजना छ।
नगरपालिकाले ‘शून्य बेरुजु’ नीति अंगाली आन्तरिक नियन्त्रण प्रणाली, लेखा परीक्षण सुधार, सूचना पाटी र डिजिटल सेवा विस्तारलाई पनि प्राथमिकतामा राखेको छ।
नगर प्रमुख भण्डारीले समापन मन्तव्यमा भन्नुभयो, “समृद्ध कर्णाली, सुखी कर्णालीबासी भन्ने नारालाई आत्मसात गर्दै आत्मनिर्भर, न्याययुक्त र दिगो विकासलाई लक्ष्य बनाएर नीति तथा कार्यक्रम ल्याइएको हो।”

नगरसभाको उद्घाटन कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले गर्नुभएको थियो। कार्यक्रममा प्रदेशसभा सदस्य लक्ष्मी सुनार, जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल र शारदा नगरपालिकाका उपप्रमुख असबिर बुढाथोकी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

नगरसभामा राजस्व परामर्श तथा न्यायिक समिति संयोजक सुस्मिता सापकोटा, कृषि, पर्यटन, पूर्वाधार तथा प्राकृतिक स्रोत समिति संयोजक लोकमान बुढाथोकी, अर्थ तथा सार्वजनिक लेखा समिति संयोजक सुरेन्द्र बुढा, विधायन समिति संयोजक हेमेन्द्र कुमार बुढाथोकी र सुशासन तथा स्थानीय सेवा समिति संयोजक सविन हमालले प्रतिवेदन प्रस्तुत गर्दै प्रश्नहरूको जवाफ दिनुभएको थियो।
नगर प्रमुख भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रम नगरसभाबाट पारित भई असार ५ गतेसम्म सञ्चालनमा रहने जनाएको छ। नीति कार्यक्रम २०८२-८३ अन्तिम







सल्यान अनलाइन । २०८२ असार ४ गते बुधवार