सल्यानलाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार बालबालिकाले पाउनु पर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चितता सहित जिल्लालाई कर्णाली प्रदेशका पूर्व भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले घोषणा गर्नुभएको हो ।

यहाँ दश वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गरेपछि जिल्लालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
जन्मिएकादेखि १५ महिनासम्मका ३ हजार ८ सय ५९ बालबालिकालाई पूर्ण रुपमा नियमित खोप लगाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तारा प्रसाद रिजालले जानकारी वताउनुभयो । उहाका अनुसार पाउने उमेर समूहका सबै बालबालिकालाई सरकारले निशुल्क उपलब्ध गराउने सबै प्रकारका (१४ किसिमका) खोप लगाएको पाइएको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डि.सीकाअनुसार बागचौर नगरपालिकामा १ हजार ५ सय २३, शारदा नगरपालिकामा १ हजार ४ सय २७, बनगाड कुपिण्डे नगरपालिकामा ७ सय ७८ बालबालिकाले पूर्णखोप प्राप्त गरेका छ । यस्तै कमाख गाउँपालिकामा १ हजार ५ सय ५१, दार्मामा ८ सय ८७, सिद्धकुमाख गाउँपालिकामा १ सय ५१, छत्रेश्वरी गाउँपालिकामा ३ सय ३३ जनाले प्राप्त गरेका छन । यस्तै कालिमाटी गाउँपालिकामा १ हजार २ सय २, त्रिवेणी गाउँपालिकामा ८ सय ८४ र कपुकोट गाउँपालिकामा १ सय ८३ जना बालबालिकाले पूर्णखोप प्राप्त गरेका छ ।
जिल्लामा १६ देखि ५९ महिनासम्मका बालबालिकाहरुको संख्या ९ हजार ४९ रहेको छ । शुन्य डोज लगाउन छुटेका ३३ बालबालिकाहरुको खोजी गरी खोप लगाइएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा अर्जुन वुढाले जानकारी दिनुभयो । उहाका अनुसार दार्मा गाउँपालिकामा ९७०, कुमाख गाउँपालिकामा १ हजार ५ सय ५१, बनगाड कुपिण्डे नगरपालिकामा ७७८, सिद्ध कुमाख गाउँपालिकामा १५१, बागचौर नगरपालिकामा १ हजार ५ सय २३, छत्रेश्वरी गाउँपालिकामा ३३३, शारदा नगरपालिकामा १ हजार ४९०, कालिमाटी गाउँपालिकामा १ हजार २०५, त्रिवेणी गाउँपालिकामा ८८४ र कपुरकोट गाउँपालिकामा १८३ १६ देखि ५९ महिनासम्मका बालबालिकाले पूर्ण खोप पाएका छन् ।

एकपटक पूर्ण खोप घोषणा गरिसकेपछि हरेक वर्ष नयाँ थपिने बालबालिकाहरुले समेत खोपको मात्रा पुरा गरेको सुनिश्चित गरेर मात्र सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको छ । यस अघि सल्यानलाई २०७९ भदौ १ गते पहिलोपटक पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । त्यसयता हरेक वर्ष सबै बालबालिकालाई खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा हुँदै आइरहेको छ ।
कर्णाली प्रदेशका पूर्व भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले सबै बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार पूर्ण खोप उपलब्ध गराउनका लागि स्थानीय सरकार, सरोकारवाला निकायको अपनत्व र सहभागिता उल्लेखनिय रहेको बताउनु भयो । उहाले भन्नुभयो रोग लाग्ने दर, अपांगता दर र मृत्युदरमा कमीलाई ल्याई स्वस्थ बालिका तयार गर्नु नै खोपको मुख्य उद्देश्य छ ।
जिल्ला समन्वय समिति सल्यानका प्रमुख वेलाराम रावलले पूर्ण खोप सुनिश्चिता कायम गर्न सवै चनाखो हुनुपर्ने वताउनुभयो ।
कार्यक्रममा दशवटै स्थानीय तहका प्रमुख, उपप्रमुख, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका पत्रकार लगायतका सहभागिता रहेको थियो ।







सल्यान अनलाइन । २०८२ असार १६ गते सोमवार