सल्यानको त्रिवेणी गाउँपालिकाले लेखापरीक्षणका क्रममा सबैभन्दा बढी बेरुजु फर्छ्यौट गरी सम्परीक्षण गराउँदै प्रदेशकै उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ। महालेखापरीक्षकको कार्यालयले ६७औं वार्षिक उत्सवको अवसरमा त्रिवेणी गाउँपालिकालाई प्रशंसा पत्र प्रदान गर्दै यो उपलब्धिको सम्मान गरेको हो।
आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणमा त्रिवेणी गाउँपालिकाले लेखापरीक्षण अंकको तुलनामा न्यूनतम बेरुजु कायम राख्नुका साथै कायम रहेको बेरुजुमध्ये ३ करोड ७९ लाख १३ हजार रुपैयाँ बराबरको बेरुजु फर्छ्यौट गर्न सफल भएको थियो। यो कार्य सम्पादन कर्णाली प्रदेशभित्रका सबै स्थानीय तहहरूमध्ये सबैभन्दा उल्लेखनीय रहेको छ।
गाउँपालिकाले प्रशंसा पत्र प्राप्त गरेपछि सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै भनेको छ “हामीले लेखापरीक्षण सुधारको अभियानलाई गम्भीरतापूर्वक लिएका छौं। बेरुजु फर्छ्यौट गरी सम्परीक्षण गराउने कार्यमा सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरूको संयुक्त प्रयासले आजको यो सम्मान सम्भव भएको हो।”
महालेखापरीक्षकको कार्यालयले देशभरका सातै प्रदेशबाट एक/एक उत्कृष्ट स्थानीय तहलाई वार्षिक लेखापरीक्षण मूल्याङ्कनका आधारमा प्रशंसा पत्र प्रदान गरेको हो। कर्णाली प्रदेशबाट सल्यानको त्रिवेणी गाउँपालिका सम्मानित हुँदा अन्य प्रदेशबाट कोशी प्रदेशको सोलुखुम्बु जिल्लास्थित सोलुदुधकुण्ड नगरपालिका, मधेश प्रदेशको रौतहट जिल्लास्थित ईशनाथ नगरपालिका, बागमती प्रदेशको काभ्रेपलाञ्चोक जिल्ला स्थित मण्डनदेउपुर नगरपालिका, गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित अन्नपुर्ण गाउँपालिका, लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लास्थित पाणिनी गाउँपालिका र सुदूरपश्चिम प्रदेशको अछाम जिल्लास्थित पञ्चदेवल विनायक नगरपालिका प्रशंसित भएका छन् ।
त्रिवेणी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले वित्तीय सुशासनलाई ध्यान दिएर काम गरिरहेको वताउनुभयो । उहाले आगामी दिनमा बेरुजु शून्य बनाउने लक्ष्यसहित वित्तीय पारदर्शिता कायम राख्ने अभियानलाई अझ सुदृढ बनाउने गरी काम भैरहेको छ ।







सल्यान अनलाइन । २०८२ असार १७ गते मङ्गलवार